विज्ञान प्रविधि

आइतबारदेखि फेरी वर्षा बढ्दै, बाढी र पहिरोको सम्भावना

काठमाडौं । आइतबारदेखि केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ । यसले बाढी र पहिरोको जोखिम निम्त्याउने भन्दै तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोहीकारण यसले प्राकृतिक प्रकोपजन्य दूर्घटना निम्त्याउन सक्ने सम्भावना छ । खासगरी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा रातिदेखि नै पानी पर्ने क्रम शुरु भएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र प्रदेश २ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्ल्लेख छ ।

वर्षा बढ्दा त्यसले विभिन्न नदी तथा खोलामा बाढी आउने भएकाले थप सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । नवलपरासीको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रका बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहान १० बजेसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पानी परिरहने भएकाले अरुणखोला, गिरुवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । मध्य साउनमा सबैभन्दा बढी बाढी र पहिरोको जोखिम रहेको छ ।