फिचर

विदेशबाट चार्टर्ड उडानमार्फत फर्किए ३१ हजार नेपाली, अमेरिकाबाट आए ४२३

File Photo

काठमाडौं । विदेशमा समस्यामा रहेका ३१ हजार नेपाली चार्टर्ड उडानबाट घर फर्किएका छन् । यसरी फर्कनेहरु विदेशबाट कम्पनीले टिकट काटेर पठाएका, सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरेर पठाएका र आफै टिकट काटेर आएकाहरु हुन् । यसपछि अब सरकारले आफ्नो खर्चमा समस्यामा रहेका नेपालीको उद्दार गर्नेछ ।

चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट मात्र करीव ३१ हजार नेपाली स्वदेश फर्किएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । यसबाहेक अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा रहेका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपाल भित्रबाट उद्दार उडान गरिरहेका छन् । विदेशबाट पनि कम्पनीहरु नेपाल आइरहेका छन् ।

कुवेतबाट सोही मुलुकको सरकारले आफ्नै खर्चमा जजिरा एयरलाइन्समार्फत आममाफी पाएर क्याम्पमा बसिरहेका नेपालीलाई फर्काएको छ । तथ्यांक अनुसार करिब २९ हजार नेपाली आफ्नै खर्चमा स्वदेश फर्किएका हुन् । कुवेतले २ हजारभन्दा बढी नेपालीलाई उसकै खर्चमा फिर्ता पठाइदिएको छ । जेठ २३ बाट नेपालीको उद्दार थालिएको हो । सरकारी तथ्यांकअनुसार १९९ वटा फ्लाइटबाट ३० हजार ९४० नेपाली स्वदेश फर्किएका छन् । सबैभन्दा धेरै यूएईबाट नेपाली फर्किए । शनिबारसम्म ७ हजार १९६ जना नेपाली यूएईबाट फिर्ता भए ।

कुवेतबाट ५ हजार ५४९ जना र साउदी अरेबियाबाट ५ हजार ५५ जना फर्किए । कतारबाट ३ हजार ३२९ र मलेसियाबाट ३ हजार २ सय २६ नेपाली घर आए । बहराइनबाट ९८०, बंगलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अष्ट्रेलियाबाट ६३४ जना नेपाली चार्टर्ड उडानका दौरान घर फर्किए । ओमानबाट ४९२, दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३, थाइल्यान्डबाट ३२६, बेलायतबाट २२९ जना नेपाली स्वदेश फर्र्किएको तथ्यांक छ ।

यसबीचमा सिंगापुरबाट १४६, इजरायलबाट १२७, फिलिपिन्सबाट १०८ र चीनबाट १०५ जनालाई फर्काइएको छ । अफगानिस्तान, म्यान्मार, श्रीलंका, हङकङ, पाकिस्तान र टर्कीबाट पनि नेपालीहरु फर्किए ।