स्वास्थ्य

नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि

काठमाडौं । नेपालमा कोरोना परीक्षण संख्या ३ लाख नाघेको छ । यससँगै नेपालमा कुल जनसंख्याको १ प्रतिशत भन्दा माथि व्यक्तिमा कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण सम्पन्न भएको छ । सरकारले कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने लक्ष्य राखेको छ । यसको मतलव कुल ६ लाख मानिसको कोरोना परीक्षणको लक्ष्य सरकारको छ ।

अहिले नेपालको जनसंख्या ३ करोड पुगेको छ । आइतबारसम्म ३ लाख ११ हजार ८ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ। यो कुल जनसंख्याको १.०३ प्रतिशत हो। तीन लाख बढीको पिसिआर परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ रहेको छ। जसमा ४० जनाको मृत्यु भएको छ । ११ हजार ६ सय ३७ जना निको भएका छन्। कोरोना जित्ने मानिस सक्रिय संक्रमित भन्दा धेरै भएका छन् ।

दैनिक देखिने थप संक्रमित भन्दा कोरोना जित्ने मानिसको संख्या समेत माथि रहेके छ । सार्क सदस्य मुलुकमध्ये प्रति दश लाखमा पिसिआर परीक्षण गर्नेमा नेपाल माल्दिभ्स र भुटानपछि तेस्रो स्थानमा रहेको छ। नेपालले प्रति १० लाखमा १० हजार ६ सय ९९ जनाको परीक्षण गरेको छ। नेपालभन्दा भारत छ । भारतले प्रति १० लाखमा ९ हजार ७ सय ३० जनाको परीक्षण गरेको तथ्यांक रहेको छ।