समाचार

पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध

प्रतिकात्मक तस्वीर

काठमाडौं । देशभर परेको अविरल वर्षा र पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध बनेका छन् । ​चितवनको चारकिलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । सोमबार बिहान ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोलसमेत ढलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठूलो पहिरो गएको र खस्ने क्रम जारी भएपछि सडक खुलाउन समस्या देखिएको छ । बिहान ५ बजेदेखि सडक अवरुद्ध छ ।

यता, आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा गएको पहिरो हटाउने प्रयास शुरु गरिएको छ । यस भेगमा पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्ड भने सूचारु रहेको छ ।

यता, सिद्धार्थ राजमार्ग समेत सोमबार बिहानैबाट अवरुद्ध भएको छ । आइतबार एकतर्फी सञ्चालनमा आएको बाटो पहिरो झरेपछि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । सिद्धार्थ राजमार्गको तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा बुटवलको सडक खण्डमा बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न समेत रोक लगाएको छ । यो सडकमा माथिबाट ठूला ढगा खसेर दुर्घटना अत्यधिक हुने गरेका छन् ।