समाचार

तिब्बतमा रहेको ताल फुट्ने चेतावनी, भोटेकोशीमा जोखिम

काठमाडौं । चीनको तिब्बतस्थित ‘केरुङ च्छो’ ताल खतराको चिन्हभन्दा माथि पुगेको छ । ताल फुट्न सक्ने भन्दै चिनियाँ अधिकारीले सतर्क रहने तटीय क्षेत्रमा बासिन्दालाई आग्रह समेत गरेका छन् । अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी गराएको छ ।

चिनियाँ अधिकारीहरुले न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको जानकारी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई गराएका हुन् । उनीहरुले आफ्ना नागरिकलाई भटाभट माथिल्लो भागमा सारिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । सोहीकारण नेपालमा भोटेकोशी तटिए क्षेत्रमा जोखिम बढेको छ ।

पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ । यसले नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ । नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन समेत दिइएको छ । नदी आसपासका बासिन्दालाई सडकभन्दा माथि सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ । खासगरी बाह्रबिसे क्षेत्रमा बाक्लो बस्ती भएकाले सचेत हुन आग्रह गरिएको छ ।