समाचार

सप्तकोशीले खतराको तह पार गर्यो, ४६ ढोका खोलिए, सतर्क रहन आह्वान

सप्तरी । सप्तकोशी नदीले खतराको तह पार गरेको छ । पहाडी भेगमा निरन्तरको वर्षाका कारण सप्तकोशीका सहायक नदीमा बाढी आएको हो । यी नदी सप्तकोशीमा पुग्दा यसले कोशीको जलसतह खतराको चिन्हभन्दा माथि ल्याइदिएको छ । मंगलबार बिहान ६ बजे पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो यस वर्षकै उच्च मापन रहेको बताइएको छ ।

कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार हुने गर्छ । अहिले पछिल्लो तीन दिन यता देशभर अविरल वर्षात भइरहेको छ । यसले नदीहरुमा पानीको बहाब बढाएको हो । बहाव बढेपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ ।

पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने सम्भावना हुन्छ । जल तथा मौसम विज्ञान विभागले समेत सप्तकोशीमा बहाव बढेको भन्दै सप्तरी र सुनसरीका सचेत रहन आह्वान गरेको छ । सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ । सम्भव भए सुरक्षित स्थानमा जान सूचित गरिएको छ ।