समाचार

यातायात व्यवसायीले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि सार्वजनिक यातायातका साधन सञ्चालन हुने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

आफूहरुले अघि सारेका मागहरु सरकारले केही पूरा गरेको उल्लेख गर्दै ८ गतेदेखि सार्वजनिक सवारी सञ्चालनमा आउने जानकारी गराएका छन् ।

छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरुले तत्काल लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न सम्भव नभए प्रदेशस्तरमा भनेपनि गाडी संचालन गर्न दिने निर्णय गर्न सरकारसँग माग गरेका छन् ।