स्वास्थ्य

फेरी कट्यो अमेरिकामा एकै दिन मृत्‍यु हुनेको संख्या एक हजार

न्युयोर्क

महामारी सुरु भए यता केही समय अमेरिकामा कोरोना संक्रमण सुस्ताएकोमा पुन: मेईपछि पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरैको मृत्‍यु भएको नयाँ रेकर्ड कायम भएको छ ।यसअघि मेई २९ का दिन कोरोना संक्रमणका कारण एकै दिनमा ११ सय ७९ को मृत्‍यु भएको अमेरिकामा गत मंगलबार जुलाई २१ का दिन १ हजार २९ को मृत्‍यु भएको छ । गत हप्ताभर भने हरेक दिन अमेरिकामा मृत्‍यु हुनेको संख्या ९ सय माथि थियो।जुलाईको सुरुवातसंगै अमेरिकामा नयाँ कोरोना एपिसेन्टरको रुपमा उदाएका फ्लोरिडा, टेक्सास, एरिजोन, क्यालिफोर्निया राज्यहरुमा मृतकको संख्या उच्च रहेको छ ।

फ्लोरिडा राज्यमा अघिल्लो हप्ता भन्दा जुलाई १९ को हप्तामा मृतकको संख्यामा ४५ प्रतिशतले बृद्धि भएको छ ।त्यसैगरी जुलाईको तेश्रो हप्तामा टेक्सासमा पनि मृत्‍यु हुनेको संख्यामा ३८ प्रतिशतले बृद्धि भएको छ भने एरिजोनामा २२ प्रतिशतले बृद्धि भएको छ ।अघिल्लो हप्ता भन्दा आईवामा ५२ प्रतिशत, अलाबामा ४५ प्रतिशत, मिजौरीमा ४६ प्रतिशतले मृत्‍यु हुनेको संख्यामा बृद्धि भएको छ ।अघिल्लो दुई हप्ता भन्दा जुलाई १९ को हप्तामा १९ वटा पश्चिम र मध्य पश्चिमका राज्यहरुमा मृतकको संख्यामा लगातार बृद्धि हुँदै गएको छ ।
संक्रमितको संख्या पनि अघिल्लो हप्ता ४ लाख ६० हजार थपियो । संक्रमितको यो संख्या जुलाईकै दोश्रो हप्ता भन्दा १५ प्रतिशतले बृद्धि भएको हो । जोन हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा बुधबारसम्म ३९ लाख ३ हजार ६ सय ८४ जना संक्रमित र १ लाख ४२ हजार ९५ को मृत्‍यु भै सकेको छ ।