समाचार

नयाँ सर्भेले देखायो टेक्सासमा बाइडेनको 'लिड', दुई दिन यता ट्रम्पको व्यवहार फरक

न्यूयोर्क

लामो समय रिपब्लिकन राज्यको रुपमा रहेको टेक्सासमा यसपाली रोचक प्रतिश्पर्धा देखिएको छ । बुधबार सार्वजनिक कुन्निपियाक विश्वविद्यालयको सर्भेक्षणमा डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अघि देखिएका हुन् ।

८८० रजिष्टर्ड भोटरबीच गरिएको सर्भेक्षणमा ४५ प्रतिशतले बाइडेनलाई मत दिने बताएका छन् भने ४४ प्रतिशतले ट्रम्पप्रति आफ्नो झुकाव देखाएका छन् । गत जुनमा ट्रम्प यहि बिन्दुमा थिए भने बाइडेनलाई समर्थन गर्नेको संख्या ४३ प्रतिशत थियो ।

सन् २०१६ को राष्ट्रपतिय चुनावमा ट्रम्पले टेक्सासमा खसेकोमध्ये ५२ प्रतिशत मत पाएका थिए । सन् १९८० मा जिम्मी कार्टरले जिते यता कुनै पनि डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वारले टेक्सासमा विजय हासिल गर्न सकेका छैनन् । लामो समयसम्म रिपब्लिकनहरुका लागि टेक्सास डेमोक्र्याटको क्यालिफोर्निया जस्तै सहज राज्यको रुपमा रहेको थियो । टेक्सास क्यालिफोर्निया  (५५) पछि सबैभन्दा धेरै ३८ इलेक्टोरल कलेज भएको राज्य हो ।

टेक्सासमा आप्रवासी एवं कलेज अध्ययन गर्नेहरुको संख्या बढेसँगै राज्यमा डेमोक्र्याटको प्रभाव बढ्न थालेको हो । २०१८ को सिनेट प्रतिश्पर्धामा डेमोक्रेटिक उम्मद्वार बेटो ओ’रर्क रिपब्लिकन सिनेटर टेड क्रुजसँग साढे दुईप्रतिशत बिन्दुको मतान्तरमा पराजित भएका थिए । सन् २००८ मा रिपब्लकिन राष्ट्रपतिय उम्मेद्वार जोन म्याकेनले १२ प्रतिशत बिन्दुको मतान्तरमा डेमोक्रेटिक बाराक ओबामालाई पराजित गरेकोमा २०१६ मा ट्रम्पले हिलारी क्लिन्टनलाई नौ प्रतिशत बिन्दुले पराजित गरेका थिए ।

ट्रम्पको विजयसँगै टेक्सासमा रिपब्लिकनको ओरालो यात्रा सुरु भयो । २०१८ को चुनावमा संघीय संसदका दुई र राज्य संसदमा १२ सिट डेमोक्र्याटहरुले रिपब्लिकनबाट खोसे । १५० सदस्सीय टेक्सास हाउसमा बहुमतबाट डेमोक्र्याटहरु नौ सिटले मात्र टाढा छन् । आउँदो चुनावमा हाउसका २२ सिट खोस्न टेक्सासको डेमोक्रेटिक नेतृत्व कस्सिएको छ । यदि टेक्सासको राष्ट्रपतिय चुनाव डेमोक्र्याटले हत्याए भने रिपब्लिकनहरुलाई राष्ट्रपतिमा निर्वाचित हुन कठिन पर्नेछ ।

कुन्निपियाक विश्वविद्यालयले मात्र होइन प्रायः सबै सर्भेक्षणले टेक्सासमा कडा प्रतिश्पर्धाको संकेत गरेका छन् । जुलाई पहिलो साता सार्वजनिक डल्लास मर्निङ न्यूजको सर्भेक्षणमा बाइडेन ट्रम्पभन्दा पाँच प्रतिशतबिन्दुले अगाडी थिए । उक्त सर्भेक्षणमा सहभागी १७ सय ७७ उत्तरदातामध्ये ४८ प्रतिशतले बाइडेनलाई समर्थन गर्ने बताएका थिए । रियल क्लियर पोलिटिक्सले बिभिन्न सर्भेक्षणहरुबाट निकालेको औषत आंकडा अनुसार अहिले टेक्सासमा ट्रम्प र बाइडेनको अवस्था बराबरीको रहेको छ ।

टेक्सास बाहेक पेन्सिलभेनिया, फ्लोरिडा, मिसिगन, विसकनसन, एरिजोन, ओहायो लगायत प्रतिश्पर्धी राज्यमा बाइडेनले प्रष्ट अग्रता लिएका छन् । चुनावसम्म बाइडेनको यो अग्रता कायम रहे उनले ट्रम्पलाई सहजै पराजित गर्नेछन् ।

प्रतिश्पर्धी राज्यहरु सहित देशब्यापी रुपमा पछि परेपछि ट्रम्पले दुई दिन यता आफ्नो व्यवहार परिवर्तन गरेका छन् । केही दिन अघि उनले आफ्नो क्याम्पेन म्यानेजरमा ब्राड पास्कललाई हटाएर बिल स्टेफिनलाई नियुक्त गरेका थिए । नयाँ क्याम्पेन म्यानेजरकै रणनीति बमोजिम ट्रम्पले बोली बदलेको अनुमान गरिएको छ । मंगलबारको पत्रकार सम्मेलनमा उनले सबैलाई मास्क लगाउन आह्वान गरेका थिए भने बुधबार हात धुन आग्रह गरेका छन् । बुधबार दिनभर उनले कसैलाई आक्रमण गरेर ट्विट पनि गरेका छैनन् ।

तस्वीरः वालस्ट्रिट जर्नल