समाचार

जन्मकैदको सजाय काटिरहेका पूर्वडीआईजी रञ्जन कोइराला रिहा

काठमाडौं । श्रीमतीको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय काटिरहेका सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला आज जेलमुक्त भएका छन् ।

सर्वोच्च अदालतले जन्मकैदको सजाय घटाएर साढे आठ वर्षमा झारिदिएपछि कोइराला डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

श्रीमती गीता ढकालको हत्या गरेपछि उनी जेल परेका थिए । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले असार १५ गते कोइराला साढे ८ वर्ष जेल बस्दा पनि सजायको मकसद पूरा हुने भन्दै सजाय घटाउने फैसला गरेको थियो ।

हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् ।

महिला अधिकारका क्षेत्रमा कार्यरत व्यक्ति तथा संघ–संस्थाहरुले फैसलाले महिलामाथि गम्भीर प्रकृतिका, बर्बर र निकृष्ठ घटना झन् बढ्दै जाने भन्दै आपत्ति जनाएका छन् । न्याय प्रणाली तथा न्यायमूर्तिहरुमाथिको विश्वास गुम्ने खतरा झन् बढ्ने उनीहरुको चिन्ता छ ।

कोइरालाले २०६८ पुस २७ गते घरायसी विवादमा श्रीमतिको हत्या गरेका थिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सो फैसला पुनरावेदन अदालत पाटनले ०७२ मंसिर २३ मा सदर गरेको थियो ।