स्वास्थ्य

कोरोनाबाट थप एक जनाको मृत्यु, के समुदायमा पुग्यो कोरोना ?

वीरगञ्ज । नेपालका कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । वीरगञ्ज–६ माईस्थानका एक व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको हो । ७० वर्षका उनी ज्वरो आएपछि एक सातादेखि बिरामी थिए । मंगलबार निधन भएको उनको सोही दिन कोरोनाको नमुना संकलन गरिएको थियो । उनमा बिहीबार कोरोना पुष्टी भएको हो । मृतकको घरमा गहना पसल रहेको बताइएको छ ।

तर, पसलमा नबस्ने उनमा कसरी कोरोना भयो भन्नेमा भने अन्यौल नै रहेको छ । यसले वीरगन्जमा कतै समुदायमा कोरोना फैलिएको त छैन भन्ने आंशका समेत उत्पन्न गराएको छ । नारायणी अस्पताल, वीरगञ्जमा १८८ जनाको पेड पीसीआर टेष्ट गर्दा २५ जनामा कोरोना संक्रमण देखिएकोबाट समेत अब वीरगन्जमा समुदायमा कोरोना देखिएको आंशका बढेको हो ।

कोरोना संक्रमण भन्दा पनि काठमाडौं जानुपर्ने, कार्यालयमा फर्किनुपर्ने मानिसहरुले पैसा तिरेर कोरोना परीक्षण गराइरहेका छन् । निजी अस्पतालमा आफैं कोरोना परीक्षण गर्दा ५ हजार ५०० रुपैयाँ शूल्क लाग्छ । अहिले गण्डक कोभिड विशेष अस्पतालमा ५ उपचाररत बिरामीलाई आईसीयूमा भर्ना गरिएको छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर भएको बताइएको छ ।