समाचार

'न्याय मूर्तीको एक फैसलामाथि प्रश्न उठेको दिन'

काठमाडौं । आज सर्वोच्चको एक फैसला कार्यान्वयनप्रति आम मानिस संतुष्ट छैनन् । सामाजिक संजालदेखि चिया पसलसम्म न्यायालयमाथि प्रश्न उठ्ने गरी सर्वोच्चबाट भएको एक फैसला कार्यान्वयनमा आएको छ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रन्जन कोइरालालाई सर्वोच्चले सजाय छूट दिएको छ । उनी बिहीबार नै रिहा भएका छन् ।

किशोर अवस्था पार गरिसकेका छोराहरुको हेरविचार गर्नु पर्ने भन्दै रिहा गरिएको उनलाई लिन छोराहरु नभएर कोइरालाकी प्रेमिका कारागार परिसर पुगेपछि अझ यो फैसलाको नियतमाथि प्रश्न उठेको हो । प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेपछि उनी बिहीबार छुटेका छन् ।

उनीमाथिको सजाय माफीले समाजमा अपराध कर्मले प्रशय पाउने तथा न्यायालयप्रतिको जनताको विश्वास कम हुनु हो की भन्ने चिन्तासमेत समाजमा बढेको छ । आज दिनभर सामाजिक संजालमा न्यायमूर्तिको फैसलामा प्रश्न उठ्दै लाखौ मानिसले प्रश्न उठाएका छन् । सांसद रामकुमारी झाँक्रीले यस फैसलाउपर न्यायिक पुनरावलोकनको आवश्यकता औल्याएकी छिन् ।
यसैबीच बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको हो । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएको छ । सर्वोच्च अदालतको फैसला चित्त नबुझे दुईवटा आधारमा पुनरावलोकनको निवेदन दिन सकिने प्रावधान रहेको छ ।

फैसला उल्ट्याउन सक्ने नयाँ प्रमाण आएमा वा सर्वोच्च अदालतले त्यस्तै प्रकृतिको मुद्दामा पहिलेको व्याख्या भन्दा फैसला फरक ढंगले गरेमा पुनरावलोकनको निवेदन दिन सकिन्छ । न्यायिक पुनरावलोकनबाट फैसला उल्ट्याउने वा यथावत राख्ने भन्ने अधिकार भने सर्वोच्चसँग नै रहेको छ । अब सर्वोच्चले जनताप्रतिको भरोसा कायम राख्न कस्तो फैसला गर्छ, त्यो भने हेर्न बाँकि छ ।

न्यायाधीशले फैसला गरे उनैले पुनरावलोकन निवेदनमाथि सुनुवाई गर्न भने पाउने छैनन् । कोइरालाले ८ वर्ष अगाडी पत्नी गीता ढकाल कोइरालालाई घरमै मारेर बोरामा राखी मकवानपुरको टिस्टुङमा लगेर जलाएका थिए । सोही हत्याकाण्डमा जोडिएकी प्रेमीका तारा रेग्मीले उनलाई कारागारबाट कारमा राखेर घर लगेकी छिन् । आफ्ना आमाका हत्यारा बाउलाई दिन छोराहरु भने कारागार पुगेनन् ।