समाचार

नियम तोडी भिडभाड गर्दै मदिरा र खाना बिक्री गर्ने न्युयोर्कका २७ ब्यवसायको ईजाजत रद्द

न्युयोर्क

कोरोना महामारीले केही महिना बन्द रहेको न्युयोर्क अहिले चौंथौं चरणमा समेत खुलिसकेको छ । मार्चपछि कोरोना संक्रमणको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्क सहर ३ महिना अस्वाभाविक रुपमा सुनसान रह्यो । गत जुलाई २० तारिख चौथौं चरणमा समेत अर्थतन्त्र  खुली सकेपछि न्युयोर्कमा भिडभाड बढ्न थालेको छ । लामो समय घर भित्रै थन्किएका न्युयोर्कबासी बजार ब्यबसायमा जान थालेका छन् । बजारमा भिडभाड बढेसंगै रेस्टुरेण्ट र मधुशाला (बार) मा समेत निकै भिडभाड बढन् थालेको छ । चौथौं चरणमा अर्थतन्त्र सुचारु गरे पनि राज्य सरकारले अनिबार्य मास्क, सामाजिक दुरीको पालना लगायतका नियमलाई भने कडाईका साथ लागू गरेको छ । चौथौं चरणपछि पनि रेस्टुरेण्ट भित्र बसेर खान र बारहरु भने खुला गरिएका छैनन् ।  सरकारले लागू गरेको सामाजिक दुरीको नियम र क्षमतालाई पालन नगरि जथाभावी ब्यवसाय संचालन गरेका कारण गत हप्ता मात्र न्युयोर्कमा संचालित २७ वटा  रेस्टुरेण्ट र बारको ईजाजत सरकारले खारेज गरेको छ । केही मदिरालय (बार) र रेस्टुरेण्ट गरेर २७ वटा ब्यबसायको लिक्वेयर (मदिरा) बिक्री बितरण गर्ने ईजाजत सरकारले रद्द गरेको हो । ती बार तथा रेस्टुरेण्टको लाईसेन्स खारेज गरेको बिषयमा गभर्नर कुमोले मंगलबार भनें; “यस्तो गर्नु पर्‍यो मलाई माफ गर्नुस् तर यो खतरनाक अवस्था हो । मैले धेरै धेरै पटक भन्दै आएको छु । हामीले बार (मदिरालय) खोलेकै छैनौं । उनीहरुले सुरुदेखि नै उलंघन गर्दै आएका छन” । न्युयोर्क स्टेट लिक्वेएर अथोरिटीले २७ वटा ब्यवसायको ईजाजत रद्द गर्दै उनीहरुलाई ४ सय १० वटा उलंघनको मुद्दा चलाएको हो ।  

मंगलबार मात्र एस्टोरियाको ब्रिन्क बार र एमआईएको मदिरा बिक्री बितरण गर्ने अनुमति खारेज गरियो भने लङ आईल्याण्ड डियर पार्कस्थित सिक्रेट जेन्टलम्यान क्लब र म्यास्पेथ पिज्जा हाऊसको ईजाजत खारेज गरियो ।