विज्ञान प्रविधि

पर्सामा थुनुवा सहित ३२ जनामा भेटियो कोरोना

वीरगन्ज । पर्सामा समुदायस्तरमा कोरोना फैलिएको आंशकाका बीच थप ३२ जनामा कोरोना पुष्टी भएको छ । जसमध्ये ५ जना थुनुवासमेत रहेका छन् । थुनुवामध्ये पनि ४ जना भने भारतीय नागरिक हुन् । नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार भएको पीसीआर परीक्षणबाट उनीहरुको नतिजा पोजेटिभ आएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्ष ५ जनामा कोरोना देखिएको छ । यसले समुदायमा कोरोना रहेको देखाएको छ । यी पाँच मध्ये ४ जना भारतीय हुन्। भारतको बिहारका ३ जना र उत्तर प्रदेशका एक जना थुनुवामा कोरोना देखिएको हो । अवैध तरिकाले नेपाल छिरेका उनीहरुलाई प्रहरीले समातेर हिरासतमा राखेको थियो ।

ती व्यक्तिमा कोरोना पुष्टी भएसँगै तराई क्षेत्रमा कोरोनाको अझ डरलाग्दो रुप हुन सक्ने देखिएको छ । यता, वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघ पर्साले आकस्मिक बाहेकका सेवा बन्द गर्न समेत माग गरेको छ ।