स्वास्थ्य

कोरोना जोखिमपछि आजबाट वीरगन्जमा अनिश्चितकालिन निषेधाज्ञा

वीरगन्ज । स्थानीय प्रशासनले वीरगन्जमा आजबाट लागु हुने गरी अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । अब अत्यावश्यक काम नपरेसम्म घर बाहिर निस्कन पाइने छैन । वीरगन्जमा समुदायस्तरमा कोरोना फैलिएको छ । पछिल्लो तीन दिनयता कोरोना भाइरसका कारण यहाँ तीन जनाको ज्यान गइसकेको छ । जसले गर्दा स्थानीयमा चिन्ता बढेको छ ।

भारतबाट मानिसहरु अनाधिकृत प्रवेश गरेको र उनीहरुमा कोरोना पुष्टी भएपछि यहाँ समुदायस्तरमा कोरोना फैलिएको पुष्टी भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेको थियो । त्यसपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो । निषेधाज्ञा जारी भएको समयमा वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको छ ।

महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसायसमेत बन्द भएका छन् । वीरगञ्जमा अन्य जिल्ला र भारतबाट आउन पूर्णप्रतिबन्ध लगाइएको छ । बिहारमा बढ्दो संक्रमणका बीच वीरगन्जमा जोखिम बढेको हो । निषेधाज्ञा लगाइएको समयमा मास टे्रस्टिङको काम समेत गरिने भएको छ । संक्रमितको सम्पर्कमा आएकालाई प्राथमिकतामा राखेर जोखिमपूर्ण स्थानमा पिसिआर गरिने भएको छ ।