समाचार

निर्मलाको हत्या भएको दुई वर्ष पुरा, अझै पत्ता लागेन अपराधी

कंचनपुर । कंचनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या भएको आज दुई वर्ष पुरा भएको छ । तर, यसअवधिमा समेत अपराधी पत्ता लगाउन नसकेको प्रहरी प्रशासनविरुद्ध भने जनताको प्रश्न अझै कायम छ । आखिर किन प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन ? प्रहरीले यसअघि दोषि किटान गरेका व्यक्तको डीएनए नमिलेको भन्दै छाडेपछि कुनै पनि व्यक्तिलाई अपराधीका रुपमा पत्ता लगाउन सकेको छैन ।

१० साउन २०७५ मा हराएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको शव भोपिल्ट ११ साउन २०७५ मा भीमदत्त नगरपालिका २ र १८ को सिमाना पर्ने निम्बुखेडा खोलानजिक उखु बारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीले उल्लेख गरेको थियो । यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकसय भन्दा बढीलाई केरकार गरेर छोडेको थियो ।

स्थानीय दिलीपसिंह विष्टलाई प्रारम्भमा दोषी ठहर गरेको प्रहरीले घटना भएको २४ औं दिन ४ भदौ २०७५ मा प्रहरीले विष्टलाई मुख्य अभियुक्त भनी सार्वजनिक गरेको थियो । तर, उनी अपराधी नभएको भन्दै समुदायमा आन्दोलन भयो । त्यसबेला आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली नै चलायो । सो क्रममा भीमदत्त नगरपालिका १८ का १४ ववर्षिय किशोर सन्नी खुनाको ज्यान गएको थियो ।

डीएनएसमेत नमिलेपछि प्रहरीले विष्टलाई छाडेको थियो । प्रहरीले यस घटनाको अनुसन्धानमा त्रुटी रहेको स्वीकार गरेको छ । यद्दपी घटना भने अझै पनि रहस्यमय बनेको छ । घटनापछि प्रहरीको नेतृत्वमै दुइ पटक परिवर्तन भइसकेको छ । सबैको प्रतिवद्धता निर्मला पन्तको हत्यारा पत्ता लगाउने भन्ने नै रहेको छ । तर, अपराधी भने खुलेआम हिडिरहेको छ ।