स्वास्थ्य

शनिबार थपिए १ सय ९ संक्रमित, ४ हजार ७५ परीक्षण

काठमाडौं । नेपालमा शनिबार १ सय ९ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभर ४ हजार ७५ नमुना परीक्षणबाट यो संख्यामा कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । अब नेपालमा १८ हजार ४८३ जनामा कोरोना पुष्टी भएको छ । सरकारले देशभर लकडाउन खुला गरेको छ । यसले पुनः संक्रमणको डिग्राी भने उकालो लाग्न थालेको संकेत देखाएको छ ।

नेपालमा शनिबारसम्म ४५ जनाको मृत्यु भइसकेको छ । देशभरबाट १३ हजार ५३ जनाले कोरोनालाई पराजित गर्न सफल भएका छन् । शनिबार डोटीमा सबैभन्दा बढी १३ जना संक्रमित थप भएका छन् । सुर्खेत र सप्तरीमा ११\११ जना कोरोना पुष्टी भएको छ । पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६\ ६ जना र दाङमा ५ जनामा कोरोना देखिएको छ ।

रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४\४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३\ ३ जनामा कोरोना देखिएको छ । काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २\ २ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एक\एक जना कोरोना देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।