समाचार

कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई

काठाडौं । पत्नी हत्या गरी अपराध लुकाउन जंगलमा लगी शव जलाएको प्रमाणित भएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालालाई जेलबाट छुटाउने सर्वोच्च अदालतको फैसला उपर परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई हुँदैछ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालाको कैद छुट गरी फैसला भएको थियो । उनी कारागारबाट छूटिसकेका छन् । यस फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चा पुनरावेदनका लागि निवेदन दर्ता गरेको छ । उक्त निवेदनउपर आज सुनुवाइ हुन लागेको हो ।

श्रीमतीको हत्यामा दोषी ठहर कोइरालाको सजाय घटाउने गरी सर्वोच्चको अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार पुनरावलोकनको निवेदन दर्ता गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला भएको भन्दै पुनरावलोकनको माग गरेको छ ।

फैसलामा गल्ती भएको ठानेमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिन सक्ने प्रावधान रहेको छ । तर, अनुमति नदिएको अवस्थामा भने फैसलाले वैधानिकता पाउनेछ भने मुद्दाको औचित्य समाप्त हुनेछ । पुनरावलोकन मुद्दा हेर्न छुट्टै इजलास गठन गरिन्छ । कुनै मुद्दाको पुनरावलोकन माग गरिए पहिले फैसला वा अन्तिम आदेश गर्ने न्यायाधीश बाहेक अन्य न्यायाधिषले इजलास हेर्ने प्रचलन रहेको छ ।

पुनरावलोकन आएको मुद्दामा यसअघि मुद्दा हेरिसकेका न्यायाधिश बाहेक अन्य न्यायाधीशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्छन् । यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसहित न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, सुष्मलता माथेमा, मनोजकुमार शर्मा, आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लले हेरेका कारण उनीहरुले यस निवेदनमाथि सुनुवाइ र निर्णय गर्न पाउदैनन् ।