फिचर

एक वर्षमा ११ खर्ब ६४ करोड व्यापार घाटा, सुधारोन्मुख वैदेशिक व्यापार

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ११ खर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । यद्दपी एक वर्षयता व्यापार घाटा सुधारोन्मुख भने देखियो । गत आर्थिक वर्ष २०७६\ ७७ मा समग्र वैदेशिक व्यापार घाटामा सुधार देखिएको हो । २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ११ खर्ब ६४ करोड रुपैयाँको व्यापार घाटा भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७५\ ७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो वर्ष व्यापार घाटा सुधार १६.७१ प्रतिशत रहेको छ । यसलाई व्यापारविद्हरु उल्लेख्य सुधार मान्दछन् । खासगरी आयातलाई शुरुदेखि नै कडाई गरिएका कारण यो वर्ष आयातको हिस्सा बढी खस्किएको छ । त्यसले समग्रा व्यापार घाटा घटाउन भूमिका खेलेको हो ।

यो वर्ष निर्यातलाई समेत कोरोना भाइरसले असर गर्यो । जसले गर्दा १ खर्ब रुपैयाँको निर्यात पुर्याउने अभियान भने प्रभावित बनेको छ । आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै विदेशबाट वस्तु आयात घटेको हो । गत आर्थिक वर्ष २०७६,७७ मा कुल आयात आर्थिक वर्ष २०७५\७६ को तुलनामा १५.६३ प्रतिशत कम भएको छ । नेपालले १ सय ५५ मुलुकसँग वैदेशिक व्यापार गरेको तथ्यांक छ । यसमा सबैभन्दा ठूलो हिस्सा भने भारतको रहेको छ ।

भारतबाट सबैभन्दा बढी वस्तु आयात भएको छ । भारतबाट ७ खर्ब ३५ अर्बको सामान आएको छ । नेपालबाट भने ६९ अर्ब ८ करोड रुपैयाँको मात्र वस्तु भारततर्फ निर्यात भएको छ । चीनबाट १ खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँ आयात भएको छ । चीनतर्फ १ अर्ब १८ करोडको वस्तु निर्यात भएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । एक वर्षमा नेपालको वैदेशिक व्यापारको आकार भने करिब १३ खर्ब रुपैयाँ रहेको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६\७७ मा कुल १२ खर्ब ९२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष भन्दा १४.६९ प्रतिशत कम कम हो । आर्थिक वर्ष २०७५\७६ मा कुल वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब ६४ करोड थियो ।