फिचर

एमसीसी पास गर्न भएको ढिलाईबारे अमेरिकाको चासो

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) पास गर्न भएको ढिलाईका सम्बन्धमा अमेरिकाले चासो राखेको छ । अमेरिकी राजदूत रेण्डी बेरी आइतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेट्न मन्त्रालय पुगेका थिए । मन्त्रालयका अनुसार भेटमा अमेरिकी राजदूतले एमसीसीका सम्बन्धमा भइरहेको प्रक्रियाबारेमा जानकारी लिएका थिए ।

एमसिसी पास गर्ने वा नगर्ने विषयमा सत्तारुढ दल नेकपा भित्र दुई तर्क रहेको छ । प्रतिपक्षी दल कांग्रेस भने एमसीसी पास गर्नेपर्ने पक्षमा रहेको छ । गत जेठ १६ गते संसदबाट पारित गरिसक्नुपर्ने एमसीसी अहिले भने अन्यौलमा छ । तोकिएको समयमा पारित हुन नसकेको यस परियोजनाका सम्बन्धमा नेपालले गरिरहेको तयारीबारे राजदूत बेरीले चासो राखेका छन् ।

यस भेटमा बेरीले यो परियोजना विश्वका अन्य देशहरुबाट माग भइरहेको समेत जानकारी गराएका थिए । रक्षामन्त्री पोखरेलले भने यस सम्बन्धमा गहन छलफल भइरहेको जानकारी गराएका थिए । बेरीले कोरोना भाइरसको नियन्त्रणमा भइरहेका कामबारे समेत चासो राखेका थिए । भारतमा बढ्दो संक्रमणका बीच नेपालमा समेत जोखिम बढेको भन्दै उनले सचेत हुनुपर्ने धारणा समेत राखेका छन् ।