स्वास्थ्य

नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७, मृत्यु भएका थप दुई जनामा कोरोना पुष्टी

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ । आइतबार थप दुई जनामा कोरोनाका कारण ज्यान गएको पुष्टी भएको हो । वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनी मधुमेह र मुटुका रोगी भएको बताईएको छ । शनिबार राति वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको उनको आइतबार बिहान ज्यान गएको हो । उता, धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गरिएपछि लैजादै गर्दा बाटोमै मृत्यु भएका युवकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । उनको आइतबार साँझ कोरोना परीक्षणको रिपोर्ट आएको हो ।

रिपोर्टबाट उनमा कोरोना पोजेटिभ देखिएको छ । यससँगै अब नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ । यद्दपी यसको घोषणा मन्त्रालयबाट हुन भने बाँकि रहेको छ ।