खेलकुद

राखेपमा रमेश सिलवाल पुनः नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वमा रमेशकुमार सिलवाल पुनः आइपुगेका छन् । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुसार तीन साताअघि पदमुक्त भएका उनी नयाँ प्रक्रिया पार गर्दै पुनः आगाी चार वर्षका लागि नियुक्त बनेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरेको हो ।

उता, उपाध्यक्षमा शिव कोइराला नियुक्त भए । यसअघि सिलवाल २३ असार २०७६ मा पहिलो पटक सदस्य सचिव बनेका थिए । सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी र सदस्य राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएपछि १८ असारमा पद मुक्त भएका हुन् । सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट हुन सफल भएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका मानिन्छन् ।

युवा तथा खेलकुद मन्त्रालय मातहतको सिफरिस समितिले एक महिलासहित ३ जनालाई नियुक्तिको सिफारिस गरेको थियो । समितिले सिलवालसहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो। सदस्य सचिव बन्न २७ जनाले आवेदन दिएका थिए।