समाचार

प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध,मन्त्रिपरिषद् फेरबदल गर्न प्रस्ताव

काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार संकट उन्मुख देखिएको छ । सरकारको नेतृत्व गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैलीले सरकार संकटतर्फ मोडिएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोधमा पार्टीभित्रै तीव्र असन्तुष्टि देखिएपछि ओली संकटमा परेका हुन् । ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा परेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक बोलाउने पहल गर्दासमेत ओली सकारात्मक देखिएका छैनन् ।
नेकपाका पछिल्ला एक दर्जन सचिवालय बैठक निर्णयमा नपुगेर स्थगित भएका छन् । सरकार एकपछि अर्को गर्दै आफ्नै निर्णयबाट पछि हट्ने अवस्था आएको छ । पार्टीभित्र पटक–पटक बसेका बैठक निष्कर्षविहीन बनेका छन् । ओलीको काम गर्ने शैलीका कारण सचिवालय मात्र होइन तल्लो तहका उनी पक्षधर नेतासमेत दिकदार मान्न थालेका छन् । जनस्तरबाट समेत ओली नेतृत्वको वर्तमान सरकारको काम गर्ने शैली परिवर्तन हुनुपर्ने माग बढ्न थालेको छ ।

पार्टीकै अविश्वास

सरकारका कामका विषयमा आम नागरिक मात्र होइन प्रमुख सत्तारुढ नेकपाका नेता–कार्यकर्ता नै निराश छन् । प्रष्ट बहुमत र सरकार दुई तिहाई भए पनि सरकारले राम्रो गतिमा काम गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा गाउँ–गाउँमा झार उखेलेर ओली गुटका कार्यकर्तालाई पैसा बाँडिएको छ । काठमाडौं उपत्यकामा धुँवा धुलो नियन्त्रणमा समस्या देखिएको छ । मेलम्ची खानेपानी आउने कुरा आकाशकै फल भएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता उमाकान्त चौधरीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्दै झुठप्रसाद ओली र करप्रसाद ओली भनेका छन् । उनले सरकारको गति आम नागरिकको भावनाको प्रतिकूल भएरै त्यसो भनेका थिए । सत्तारुढ दलका नेताहरुले समेत प्रधानमन्त्री ओलीको आलोचना गरिरहेका छन् । उनीहरुले आन्तरिक आलोचनाभन्दा पनि सार्वजनिक रुपमै ओलीको विरुद्ध अभिव्यक्ति दिएका छन् । सरकारविरोधी माइतीघर मण्डलाको प्रदर्शनमा समेत नेकपाका नेताहरु सहभागी थिए ।
राष्ट्रिय महत्वका परियोजनाको गति अत्यन्तै सुस्त छ भने प्रधानमन्त्रीले रेल र पानीजहाजका सपना बाँड्न छाडेका छैनन् । उनले आफूले इतिहासमा नगरेको काम गरेको भनेर नागरिकलाई भ्रम छरिरहेका छन् । केही मन्त्रीले समेत प्रधानमन्त्री ओलीको बोलीमा लय मिलाउँदै अहिलेसम्म नभएको काम वर्तमान सरकारबाट भएको बताए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताले भने सरकारको काम गर्ने शैलीको विरोध गर्दै मन्त्रिपरिषद् फेरबदल गर्ने प्रस्तावसमेत गरेका छन् ।
आम नागरिकले पनि चौधरीले भनेजस्तै झुठप्रसाद ओलीको रुपमा वर्तमान प्रधानमन्त्रीलाई लिन थालेका छन् । नेकपाकी सांसद नबिना लामा सरकारले काम गर्न नसक्नुका पछाडि प्रधानमन्त्री मात्र नभएर अन्य पनि दोषी भएको बताउँछिन् । उनले प्रयास गरिरहे पनि सरकारको काम गर्ने गति भने राम्रो हुन नसकेको बताउँछिन् । त्यस्तै नेकपाकै युवा नेता रामदीप आचार्यले अहिलेको दोषी प्रधानमन्त्री ओली भएको बताएका छन् । उनले प्रधानमन्त्रीको कार्यशैलीले नै सरकार र कम्युनिष्ट पार्टीप्रति आम नागरिकको धारणा गलत भएको बताएका छन् । उनले तत्काल राम्रो काम गर्न नसक्ने अवस्थामा नेतृत्वले अर्कै तरिकाले सोच्नु पर्नेमा जोड दिएका छन् ।

वैचारिक विचलन

नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकताको डेढ वर्ष पुग्दा पनि आफ्नो वैचारिक लाइन प्रष्ट पार्न सकेको छैन । यसअघि सचिवालयले पारित गरेको आफ्नो राजनीतिक कार्यदिशा जनताको जनवाद हुने भन्ने कुरामा पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अड्को थापेका छन् । अन्तरिम राजनीतिक कार्यदिशामा जनयुद्धको उच्च बयान गरिएको छ भने नयाँ कार्यदिशाको रुपमा जनताको जनवाद भन्ने शब्द उल्लेख छ । तर ओलीले अहिले पहिले एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवादलाई मान्नुपर्ने प्रस्ताव गरेका छन् ।
ओलीले पूर्व एमालेलाई एक ठाउँमा ल्याउनका लागि जबजको रणनीति अपनाएको देख्न सकिन्छ । तर, उनले समग्रमा देशकै नेता बन्नुपर्नेमा आफू एउटा सानो गुटको नेता मात्र बन्न पुगेको कुरा बिर्सिएका छन् । वैचारिक हिसाबले सहमति गर्ने र त्यसलाई कार्यान्वयन गर्ने रोग ओलीमा अझै सञ्चो नभएको नेता आचार्यले बताए । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नयाँ ठाउँमा जाने भनेर हिँडेपछि पछाडि फर्किनु गलत हुने बताएका छन् । उनले अहिले वैचारिक बहसभन्दा पनि भएको कुरालाई कार्यान्वयन गर्दै नयाँ विकास गर्नु आम नागरिकको हितमा हुने बताएका छन् ।
ओली वैचारिक हिसाबले पनि एक्लिएका छन् । ९ सदस्यीय सचिवालयमा जबजको पक्षमा अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोख्रेल मात्र छन् । तर, नयाँ विचारको पक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा रहेका छन् । सचिवालय बैठकमा ओली अल्पमतमा परिसकेका छन् । त्यस्तै सचिवालय र केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा छन् । त्यसैले उनले सकभर बैठक बसाउन नचाहेको नेताहरुको भनाइ छ ।
वैचारिक विचलनका कारण ओलीले इमानदारिता देखाउन नसकेको पूर्व माओवादीका नेताहरुले बताएका छन् । ओली आफ्नो अनुकूलताका लागि जे पनि सहमति गर्ने र सहमतिलाई कार्यान्वयन नगर्ने खालको संस्कारबाट राजनीतिमा हुर्किएका छन् । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम हँुदै अहिले पुष्पकमल दाहाललाई समेत ओलीले धोका दिएका छन् । पार्टीभित्र वा बाहिर जहाँ भए पनि ओलीले यस्तै खालको गैर वैचारिक तथा गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेका छन् । त्यसैले नेकपासमेत वैचारिक विचलनमा परेको छ ।

निरंकुश शैली

प्रधानमन्त्री ओलीको काम गर्ने शैली निकै निरकुंश छ । छलफल, परामर्श, सल्लाह भन्ने कुरा ओलीलाई मन पर्दैन । विपक्षीलाई हेपेर बोल्ने, पार्टीमा आफू मात्र सही र ठीक भन्ने ओलीको शैलीले उनी पार्टीभित्रै पनि अलोकप्रिय बन्न थालेका छन् । छुच्चो र तुच्छ शब्दको प्रयोग गरेर विपक्षीको आलोचना गर्ने ओली शैलीले अघिल्लो हप्ता काठमाडौंमा हजारौं नागरिक सडकमा उत्रिए । वर्तमान सरकारविरुद्ध शक्ति प्रदर्शनसमेत गरे । अझै पनि ओलीले ती व्यक्तिलाई शत्रुका रुपमा चित्रण गरिरहेका छन् । आफ्नो कुरामा अनावश्यक अडान राख्ने निरंकुश शैली ओलीमा हावी भएको छ ।
दुई अध्यक्षको प्रावधान रहे पनि सरकारले गर्ने नियुक्ती, सिफारिश लगायतका विषयमा अर्का अध्यक्ष प्रचण्डलाई जानकारीसमेत हुँदैन । त्यति मात्र होइन आफू विदेश जाँदा विमानस्थलमा को आयो को आएन भनेर समेत उनले हिसाबकिताब राख्ने गरेको बालुवाटार स्रोतले जनाएको छ । आफ्नो गुटका केही नेतामा समेत ओलीले आफ्नो शैलीअनुसार प्रशिक्षित गरेका देखिन्छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अहिले ओलीको निरकुंश शैलीको बचाऊ गर्दै आएका छन् । त्यति मात्र होइन उनी ओलीकै घर बाल्कोटमा बस्दै आएका छन् ।
मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, मानवअधिकारसम्बन्धी विधेयक, सुरक्षासँग सम्बन्धित विधेयक सबै निरकुंशता उन्मुख विधेयक हुन् । ओली नेतृत्वको वर्तमान सरकारले फिर्ता लिएको गुठीसम्बन्धी विधेयक पनि उस्तै प्रकृतिको थियो । तर, पहिल्यै सरकारले फिर्ता लिएर ठूलो आन्दोलनको दबाब सामान्य हिसाबले थेगेको छ । ठूलो जनमानस जम्मा भएको पनि प्रधानमन्त्री ओलीको निरंकुश शैलीका विरोधमा भएको आन्दोलनकारीका एक नेताले बताएका छन् ।
नेपालमा पछिल्लो पटक झण्डै दुई वर्षदेखि सरकारको नेतृत्व गरेका ओलीमा झन्पछि झन् निरकुंश बन्न मन लागिरहेको छ । त्यसैले उनी पार्टीभित्रैबाट अलोकप्रिय भएका छन् । आन्तरिक रुपमा समेत ओलीको विकल्प खोज्न सकिने संकेत अर्का अध्यक्ष प्रचण्डले केही हप्तादेखि दिइरहेका छन् । त्यसबाट बच्नका लागि अहिले ओलीले वैचारिक विवादको लफडा गरिरहेका छन् । तर, महासचिव विष्णु पौडेलले अबका केही दिनमा फेरि बैठक बस्ने र बाँकी विषयबस्तु टुंगो लगाउने जानकारी दिएका छन् ।