समाचार

कांग्रेस प्रवेश गरे सुनील थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पुत्र सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापालाई मंगलबार नेपाली कांग्रेसमा प्रवेश गराइएको हो ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरेका छन् । धनकुटा कांग्रेसका संस्थापक सभापति स्व. सूर्यबहादुर थापाकै पहलमा पछि राप्रपा गठन भएको थियो । तर, राप्रपाले सूर्यबहादुर थापाको बिचारलाई आत्मसाथ गर्न नसकेको भन्दै पुत्र सुनील कग्रेसमा प्रवेश गरेका हुन् ।

मंगलबार आयोजित कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुले कम्युनिस्टबाट प्रजातन्त्र खतरामा रहेको भन्दै त्यसका सचेत हुनुपर्ने ताए । अहिलेको सरकारले सबैतिर कन्ट्रोल गर्न खोजेको सभापति देउवाको भनाई छ । मिडिया, फोन ट्यापिङ गरी प्रजातन्त्र कमजोर बनाउने प्रयास भइरहेको उनको भनाई छ ।

सभापति देउवाले राप्रपाबाट आएका थापालगायत कसैलाई पनि भेदभाव नगरिने बताए । सुनीलबहादुर थापा मिहेनती नेता भएको उनको भनाई छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले संविधानले आत्मसाथ गरेको व्यवस्थालाई अझैसम्म स्वीकार गर्न नसकेको उल्लेख गरे ।

उपभापति विमलेन्द्र निधिले सुनीलबहादुर थापाको कांग्रेस प्रवेशले प्रजातान्त्रिक शक्तिलाई बलियो बनाएको उल्लेख गरे । प्रधानमन्त्री केपी ओलीका गतिविधिले प्रजातन्त्र खतरामा परेको उनको भनाई छ ।

कांग्रेसको सदस्यता लिएका नेता सुनीलबहादुर थापाले आफ्नो परिवारमा कांग्रेससँग ६५ वर्षअघिको सम्बन्ध रहेको स्मरण गरे । उनका बुबा स्व. सूर्यबहादुर थापा २०१० सालमा कांग्रेस धनकुटाको सभापति थिए ।