स्वास्थ्य

विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन

सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा दुखदः घटना घटेको छ । जाजरकोटमा विषालु च्याउ सेवनबाट एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै घरका चार जनाको निधन भएको हो । एक जना बालिकाको सोमबार घरमै निधन भएको र अन्य तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार ज्यान गएको बताइएको छ ।

९ साउनमा उनीहरुले जंगलबाट च्याउ ल्याएर तरकारी खाएका थिए । तर, च्याउ जंगली विषालु परेको हो । टेकबहादुर चलाउनेको परिवारका ८ जना गम्भीर बिरामी परेका थिए । प्रहरीका अनुसार बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र तीन वर्षिय छोरी अन्जता तथा ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार सुर्खेत पठाएको थियो । बिरामीमध्ये अझै एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । तीनजनाको अवस्था सामान्य छ । अस्पताल ल्याउन ढिला भएको र त्यसक्रममा शरीरमा विषले प्रभाव पारिसकेका कारण किशोरीहरुलाई चाउन नसकिएको अस्पतालको भनाई छ । टेकबहादुर स्वयमः उनका ३० वर्षीय छोरा ललित, ३० वर्षीया बुहारी कल्पना र अर्को एक छोरीको उपचार भइरहेको छ ।