स्वास्थ्य

उपत्यकामा बढ्यो कोरोनाको जोखिम, छैन पूर्वतयारी

काठमाडौं । मंगलबार नेपालमा पछिल्लो दुई साता यताकै सर्वाधिक कोरोना संक्रमित बिरामी भेटिए । यस दिन २४ घण्टाको अवधिमा कुल ३ सय ११ जनामा कोरोनाका बिरामी थपिए । यसमध्ये काठमाडौंमा ४८ सहित उपत्यकामा मात्र ५३ जनाका कोरोना भाइरसको संक्रमण भेटिएको छ । यसले मुलुकका अन्य भेगमा भन्दा अब कोरोनाको ज्वरो काठमाडौं उपत्यका भित्र चर्कने संकेत गरेको छ ।

खासगरी लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा छिर्ने मानिसको अधिक भीड छ । तर, उनीहरुलाई काठमाडौं आइसकेपछि उचित सुरक्षा प्रवन्धसहित व्यवस्थापनको तयारी भने छैन । महानगरपालिका र सरकारले भवितब्यबारे कुनै योजना बनाएको पाइदैन । पछिल्लो केही दिनयता बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं आउने कम भएका छन् । तर, उपत्यकामा संक्रमणको ग्राफ भने उकालो लागिसक्यो ।

यसले केही दिन भित्रै भयाभहको अवस्था सिर्जना गर्ने चेतावनी विज्ञहरुले दिएका छन् । त्यस अवस्थामा काठमाडौं उपत्यकाको संकट टार्न निकै मुस्किल हुने निश्चित छ । सरकारले काठमाडौं महानगरभित्र भारत तथा तेस्रो मुलुकबाट आएका मानिसलाई समेत १४ दिन क्‍वारेन्टाइनमा राख्‍न सकेको छैन । त्यसका लागि क्‍वारेन्टाइन नै छैनन् ।

त्यसमाथि उपत्यका छिर्ने अन्य जिल्लाका मानिसलाई क्वारेन्टाइनमा राख्न सक्ने त कल्पना बाहिरको विषय भयो । यसले काठमाडौंलाई अब कोरोनाको इपिसेन्टर बनाउने जोखिम बढेको छ । अहिले काठमाडौं आउने मानिुलाई स्थानीय निकाय वा जिल्ला प्रशासनले सहजै सिफारिस दिन्छन् । यसले काठमाडौं आउने मानिसको चाप ह्वात्तै बढेको छ ।