समाचार

नेकपा विवाद फेरी उत्कर्षमा, पारिवारिक भेट भन्दै ओली बामदेव निवासमा

काठमाडौं । सत्तारुढ नेकपाको विवाद पुनः उत्कर्षमा पुगेको छ । मंगलबार डाकिएको स्थायी कमिटि बैठक प्रधानमन्त्री केपी शर्मा ओलील एकतर्फी स्थगित गरेपछि अर्को अध्यक्ष प्रचण्डले बैठक पुनः सूचारु गरे । आफ्नै निवासमा आयोजना गरिएको भएपनि पटक पटक बैठकलाई टार्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसमेत धोका दिएपछि कार्यकारी अध्यक्षको हैसियतमा स्थायी कमिटि बैठक संचालन गरे ।

बैठकमा प्रचण्डले दुई अध्यक्षको भावना विपरित ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेकोमा गुनासो व्यक्त गरे । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल एक स्थानमा रहेको अवस्थामा अकस्मात मंगलबार उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्रीको राजिनामाको शर्तबाट पछाडी हटेका छन् । यसले प्रधानमन्त्रीलाई डाढस दिएको छ ।

सामान्यतया वालुवाटारबाट बाहिर ननिस्कने प्रधानमन्त्री आज भने वामदेव निवास भैसेपाटी मै पुगेका छन् । केपी ओली निकटले यस भेटलाई निनान्त पारिवारिक भन्दै राजनीतिक भेट नभएको प्रचार गरेका छन् । तर, यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । बामदेव गौतमले प्रधानमन्त्रीको राजिनामा विपक्षमा रहेको विज्ञप्ती मंगलबार नै सार्वजनिक गरेका थिए ।

पार्टी एकता कायम राखिराख्न आफुले यस्तो प्रस्ताव गरेको उनको भनाई छ । उनी मंगलबार प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटि बैठकमा भने सहभागी भएका थिए । उनले आफ्नो विज्ञप्तीको आषय स्पष्ट पार्ने प्रयास गरेका थिए । नेताहरुले भने पार्टी गम्भीर मोडमा पुगेको भन्दै दुर्घटनाको संकेत गरेका छन् । पर्यटन मन्त्री योगेश भट्टराईले पार्टी संकटमा रहेको सार्वजनिक रुपमै लेखेका छन् ।