समाचार

डेनमार्कमा कांग्रेसको कुम्भ मेला -उपलब्धि शून्य, आरोप–प्रत्यारोपमा केन्द्रित

विश्वन्युज संवाददाता

नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिषण प्रतिष्ठानको आयोजनामा डेनमार्कको राजधानी कोपेनहेगनमा आईतबार विश्वस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न पाँच कार्यपत्र प्रस्तुत भएको भेलामा संसारभरबाट झण्डै ३ सय भन्दा धेरै प्रतिनिधि पर्यवेक्षक सहभागि भएका थिए । शुक्रबार, शनिबार र आइतबार भएको भेलामा आरोप–प्रत्यारोपको शृङ्खला नै चलेको भेलामा सहभागी नेताहरुले बताएका छन् । भेलामा अमेरिका, युरोप, एसिया र अफ्रिकाका समेत काँग्रेसका अगुवा कार्यकर्ताको सहभागिता थियो ।
नेपाली जनसम्पर्क समितिहरुको विश्वस्तरीय प्रशिक्षण भनेपनि कार्यक्रम संगठनमा देखिएको विवादमा केन्द्रित भएको थियो । प्रशिक्षण कार्यक्रममा जनसम्पर्क समितिहरुमा देखिएको विवाद, नेपाली काँग्रेसको गुटबन्दी, एनआरएनएको आउँदो चुनाव, विदेशमा रहेका नेपालीलाई दिनुपर्ने मताधिकार लगायतका समस्यामा समेत केन्द्रित रहेर छलफल भएको थियो । कार्यक्रमको संयोजन तथा व्यवस्थापन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको थियो ।
प्रशिक्षण कार्यक्रममा डेनमार्कका पूर्वसांसद एवं डेनमार्कको समाजवादी लोकतान्त्रिक पार्टीका नेता युल्डिज अक्डगनले समाजवाद र युरोपको अनुभवसम्बन्धी प्रशिक्षण दिएका थिए । नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बे पार्टीका सिद्धान्तको व्यवहारिक प्रयोग र अनुशासन, डा मिनेन्द्र रिजालले बदलिएको विश्व राजनीति, दक्षिण एशिया र नेपाल विषयमा, कान्ता रिजालले अन्तर्राष्टिय महिला आन्दोलन र नेपाल तथा नेता धनराज गुरुङले लोकतन्त्रमा नेतृत्व विकासको प्रश्न र नेपाल सन्दर्भका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका लागि नेपालबाट पार्टी उपसभापति विमलेन्द्र नीधि, महामन्त्री डा शशांक कोइराला, डा मिनेन्द्र रिजाल, पार्टी प्रवक्त विश्वप्रकाश शर्मा, धनराज गुरुङ्ग, गोविन्द भट्टराई, भीष्मराज आङदेम्बे, किरण पौडेल, प्रतिमा गौतम, नैनसिंह महर, रामजी दाहाल, पुरुषोत्तम दाहाल लगायत डेढ दर्जन नेताहरु कोपनहेगन पुगेका थिए । प्रशिक्षण सकिएपछि नेताहरु अहिले विभिन्न क्षेत्रको भ्रमणमा लागि परेका छन् । पार्टी उपसभापति निधि, महामन्त्री कोइराला, प्रवक्ता शर्मा लगायतले नेपालमा पार्टीको अवस्थाका विषयमा जानकारी गराएका थिए । नेपालमा अर्को चुनावमै नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताए ।
कोपेनहेगनको रिचमण्ड होटलमाा भएको कार्यक्रममा युरोपका विभिन्न राष्ट्रिय समितिसहित, अमेरिका, क्यानडा, जापान, कोरिया, बेलायत, भारत, मकाउ, हंगकंग, कतार, कुवेत लगायत संसारभरका विभिन्न देशबाट नेपाली काँग्रेसको महासमिति तथा महाधिवेशन प्रतिनिधि जम्मा भएका थिए । गैरआवासीय नेपाली संघ एनआरएनएका काँग्रेस सम्बद्ध पदाधिकारी समेत कोपेनहेगनको भेलामा सहभागि बने । कार्यक्रममा सहभागिले भेला भन्दापनि गालि प्रतियोगिता जस्तो भएको टिप्पणी गरे भने केहीले भेलालाई कुम्भ मेलाको रुपमा चित्रण गरेका थिए । एनआरएनएका पदाधिकारीले आउँदो अधिवेशनमा कसरी जानुपर्छ भनेर पार्टीलेनै रणनीति बनाउन नेतृत्वलाई सुझाब दिए ।
भेलाको उदघाट्न सत्रमा डेनमार्क लगायतका विभिन्न देशका समाजवादी पार्टीका नेताले समेत आफ्नो मन्तव्य राखेका थिए । उपसभापति निधिले पानसमा बत्ती बालेर भेलाको उद्घाटन तथा जनसम्पर्क समिति डेनमार्कको चौधौं वार्षिकोत्सवको औपचारिक उद्घाटन गरेका थिए । नेपालमा जस्तै तामझामसहित पञ्चकन्याले अतिथिलाई फूल दिएर स्वागत गरिएको थियो । जन सम्पकृ समिति डेनमार्कका सभापति विरेन्द्र सिंह कार्कीले नेपालमा जस्तै सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।
डेनमार्क भेलाको अधिकाँस भाषण नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्व्को वर्तमान सरकार विरुद्ध केन्द्रीत भएको थियो । उपसभापति निधि र महामन्त्री कोइरालाले वर्तमान सरकार संघीयता बिरोधी भएको आरोप लगाए । उपसभापति निधिले सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीकै कारण गणतन्त्र समेत खतरामा परिरहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनका लागि देशभित्र र बाहिर रहेका ेनपाली एक ठाउँमा हुनुपर्नेमा जोड दिए । उनले भने ’सत्तासीन दलका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा छ । लोकतन्त्रवादीहरु एकजुट हुनुपर्छ । लोकतन्त्रको रक्षा लोकतन्त्रवादीको प्रमुख दायित्व हो ।’
नेपालका कम्युनिष्टहरुले संघीयतामा विश्वास नगरेको र गणतन्त्रप्रति पनि प्रतिबद्ध नभएको निधिले बताए । सरकारको नेतृत्वगरेको दलका नेताहरुबाटै संघीयता बिरुद्ध हाकाहाकी कुरा गरिरहेको आरोप लगाउने उनले संसारभर छरिएर रहेका नेपाली काँग्रेसका नेता कार्यकर्ता एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका थिए । अमेरिका, क्यानडा लगायतका देशका प्रतिनिधिले भने नेपाली काँग्रेसको नेतृत्वकै आलोचना गरेका थिए । केहीले घुम्नका लागि मात्र यो भेला उपयुक्त भएको बताएका छन् । नेपालबाट पनि अनवश्यक रुपमा धेरै मानिस बोलाएर ठूलो आर्थिक व्यवभार थोपरिएको भन्दै केहीले व्यवस्थापकिय कमजोरीको उजागर गरे ।
अमेरिकाका संस्थापक अध्यक्ष बिष्णु सुवेदीको भाषण चर्चामा रहेको थियो । उनले अमेरिकाको महाधिवेशन हुन नसकेको भन्ने गुनासो गरे । अष्टेलिया, क्यानडा र बेल्जियममा केन्द्रका नेतालेनै समस्या भएको उनले बताए । पार्टीको प्रशिक्षण प्रतिष्ठानले गुटबन्दी गरेको आरोप लगाउँदै उनले विधानले राम्रोसंग जनसम्पर्क समितिलाई सम्बोधन नगरेको उनको भनाई छ । सुवेदीले विदेशमा बस्नेलाई भन्दा नेपालमा बस्नेलाई प्रशिक्षण आवश्यक भएको बताए । विभाग, समिति, गाउँसमिति, नगरसमिति र प्रदेश समिति समेत नबनाएर केन्द्रीय नेतृत्वले विदेशमा प्रशिक्षण आयोजना गरेको प्रति कटाक्ष गर्दै सुवेदीले जनसम्पर्क समितिको विभाग बनाउन र देखिएका विवाद समाधानमा केन्द्रीत हुन आग्रह गरेका थिए ।
कार्यक्रमलाई नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दीलबहादुर गुरुङ, स्पेनका संस्थापक अध्यक्ष चिन्तमणि सापकोटा, नेदरल्याण्डका संस्थापक अध्यक्ष नारायण आचार्य, चारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले आफ्नो धारणा राखेका थिए । एनआरएनएका वर्तमान पदाधिकारीले समेत एनआरएनमा अब कसरी नेपाली काँग्रेस निकटलाई जिताउने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । नेपाली काँग्रेसका पदाधिकारीले समेत एनआरएनएको अबको नेतृत्वका लागि आफूहरु लागि पर्ने बताएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट धेरै नेता सहभागि हुने भएपछि काँग्रेसमा देउवा इतरका नेताले भेला बहिष्कार गर्ने छलफल गरेका थिए । तर विदेशमा बस्ने नेपाली काँग्रेस समर्थकलाई नकरात्मक सन्देश जाने भन्दै भेला बहिष्कार भन्दा पनि सहभागिताबाटै समस्या समाधानको पहल गर्ने भन्दै नेताहरु डेनमार्क लागेका छन् । डेनमार्कमा पनि नेताहरुले गुटबन्दी अनुसार घुमघामको कार्ययोजना बनाएर डुलिरहेका छन् । नेपालबाट गएको टोलीका अधिकाँस सदस्य अहिले विभिन्न देशमा रहेका समितिको खर्चमा डुलिरहेका छन् ।