बिचार

नेकपाको राइदालो र छिरोलिएको पराल

पुरुषोत्तम लम्साल
[email protected]

गाउँमा एउटा कथा थियो । मियोमा बाँधिएका गोरु आपसमा विपरीत दिशाबाट घुमे पनि माडिने त पराल नै हो । पराल माडिन्छ भनेर घरधनीले चारतिर फर्किएका गोरुहरुलाई त्यत्तिकै छाडिदिए । केहीबेर यत्तिकै भयो । गोरुहरु आफ्नै तालमा घुमिरहे, पराल केही डल्लो परिरह्यो, लाठे बिंडी तन्काउन निस्किए । फर्कंदा मियोमा चारै गोरु घाँटी कस्सिएर फुस्रा आँखा पल्टाउन थालेका । नाम्लो भए पो सजिलै काट्नु, दाम्लो पो त, दाम्लो चुँडाल्ने वा मियो ढाल्ने माइकालाल कोही भएन र खाइलाग्दा बहर गोरु हेर्दाहेर्दै फिंज काडेर परलोक भए । मलाई गाउँघरको यो किस्सा नेकपासँग जोड्न खुब मज्जा आइरहेको छ आज ।

गोरु बाँधिए पनि खेत बाँझै, गोरु फुके पनि खेत बाँझै पनि भन्छन् गाउँमा । बाँधिदियो जोत्न मिल्दैन । फुकाइदियो सम्हालेर हलोमा दलाउन सकिंदैन । फुक्काफाल भएपछि गोरु पनि साँढे हुन्छ । त्यो बेला बिजोक खेतको हुन्छ, लाठेको हुन्छ, रोपारको हुन्छ । असार लागेपछि शुरु भएको नेकपाभित्रको साँढेको कथा आजपर्यन्त उस्तै छ । हिलो खेत उस्तै छ, सरकारको हल्लो लिण्ठिंग हल्लिरहेको छ, पार्टीका रोपार बाउसे दोहोरी गाइरहेका छन्, सत्तारुढ नेकपा हल गोरु दाउन नसकेर किंकर्तव्यविमूढ छ ।

यता पञ्चायती व्यवस्थाका जब्बर बाघ भनेर चिनेका सूर्यबहादुर थापाका पुत्र सुनिलबहादुर थापालाई पार्टी प्रवेश गराएर, सदस्यता थमाएर नेपाली कांग्रेसले लोकतन्त्र र प्रजातन्त्रको नयाँ बिगुल बजाइसक्यो, नेकपा स्थायी कमिटी वैठकसमेत बस्न सक्दैन । यता संसदमा, सरकारमा प्रतिपक्ष दल खोज्दा नभेटेर सत्तारुढ नेकपाले आफ्नै पार्टीभित्रको गुटतन्त्रलाई जवाफ दिएर जवाफदेही भएको देखाउनु परिरहेको छ, उता कांग्रेस महाधिवेशनमा कसरी हुन्छ एक दुई टाउको थप्न पाए हुन्छ भन्ने खेतीमा छ । राप्रपाबाट कांग्रेस पसेको एक हूल देखेर कांग्रेसको एउटा तप्कालाई प्रजातन्त्र र विपीको समाजवादको गायत्री मन्त्र सभ्य अपसभ्य दुबै गरेर जप्न भ्याइनभ्याइ छ, त्यहीं अर्जुन नरसिंह केसीका वाणीहरु छाइरहेको छ । अहो, कांग्रेसभित्रको यो चित्र पनि बिचित्रको छ ।

प्रतिपक्ष को हो ? प्रतिपक्षको खबरदारी के मा छ ? प्रतिपक्षले हस्तक्षेप गरेका मुद्दाहरु के के छन् ? सरकारलार्य सहिष्णु बनाउन प्रतिपक्षले कसेको लगाम कुन हो ? कुन मुद्दामा ? अधिनायकवादको कोकोहोलो मच्चाएर सरकारलाई स्वेच्छाचार गर्न दिने प्रतिपक्ष कुन देशमा भेटिन्छ ? मान्छे हाँस्लान्, नपत्याउलान् तर आजको नेपाली कांग्रेस जस्तो कमजोर प्रतिपक्ष नेपालमा कम्तीमा यो शताब्दीमा नभेटिएला । एक दर्जन संवैधानिक आयोगमा भागबण्डा खोजेरै सही, आयोगलाई पूर्ण बनाउन भन्न नसक्ने प्रतिपक्ष पनि के प्रतिपक्ष ! यति भनेपछि कांग्रेस सभापति देउवाको कान ठाडो हुनसक्छ ।

सत्तारुढ नेकपाको स्थायी कमिटीको लिगिलिगे दौड अझै सकिएको छैन । असार १० गतेदेखि आजसम्म कतिवटा वैठक बस्यो र कतिवटा स्थगित भयो भनेर अब जनले गणना गर्नै छाडिसकेका छन् । वैठक स्थगित गर्ने म्याराथुनमा सत्तारुढ नेकपाले बनाएको कीर्तिमानमा पार्टी र कार्यकर्ता दुबै गुटगत हर्षोल्लास मनाउने स्थिति छ । जसरी कारोना भाइरसको संक्रमणको बृद्धिबारे जनता अभ्यस्त हुँदैछन् उसैगरी नेकपाको स्थायी समितिको वैठक स्थगित हुने सिलसिला पनि अब मान्छेको चासोको विषय बन्न छाड्दै छ । अर्थात्, अन्त्यहीन वैठक स्थगितको श्रृङ्खला र निकासहीन मतभेद उच्चाटलाग्दो बन्दैछ ।

निर्लज्जताको हद हुँदो हो त नेताहरुले आ–आफ्नो स्वार्थसमूह बनाएर घरि वालुवाटार, घरि खुमलटार र घरि भैंसेपाटीमा चियाचमेना गरिरहन पर्दैनथ्यो । वैठक कसले बोलाउने भन्ने विषयसमेत अब नेकपाभित्र शरमको यात्रा बनेको छ । पार्टी खोपीमा सजिएको छ, पार्टी कार्यालय शीर्ष नेताहरुको चोठाकोठामा वा गोजीमा सीमित छ र जग हँसाउने वैठकको रत्यौली रमाइलो छ । शिर्षहरुको यो मनपरीले घेरा नाघेर अराजक बन्दा एउटा समूह वैठकमा नआउने र अर्को समूह वैठक होइन अनौपचारिक छलफल भन्दै मोर्चा कस्ने नीर्घिणी अभ्यासमा छ । स्वार्थसमूहको छलफल चलाउने तर निर्णय पुस्तिकामा दस्तखत गर्न नसक्ने समूह एकातिर छ, के गर्छन् हेरौंला नि हामी पनि भन्ने समूह अर्कोतिर छ । लोकलाज दुबैलाई पचिसकेको छ । दैव ! यही नै तिनका लागि लोकतन्त्र भएको छ ।

विधि र पद्दति आत्मगत र मनोगत विवादको विषय बनेका छन् । पछिल्लो एक महिनाको यो उठबस र बसउठ माउसुलीको पुच्छर चुँडालेको बराबर छ । अनुत्पादक छलफल गरिरहने, आरोप प्रत्यारोपमा रमाइरहने, पार्टी र सरकारबीच जुहारी चलिरहने श्रृङ्खलाले राष्ट्रिय मुद्दा कति पछाडि धकेलियो भनेर नेताहरुले गम्भीर भएको दृष्टान्त अहिलेसम्म कहीं कतै छैन ।

हामी शीर्ष टाउकाहरुको राजनीतिको नाममा बिसङ्गत संस्कारलाई र लोकतन्त्रका नाममा भाडतन्त्रको मात्र पक्षपोषण गर्न अभ्यस्त भइरहेका छौं । जनसरोकार र जनजीविकाका भयावह मुद्दा द्रबित बनाएर, अपहेलित बनाएर पार्टी र सरकारले शनैशनै विश्वासको डुङ्गामा बनाइरहेको छिद्र हेरेर हेरिनसक्नु छ । राष्ट्रवाद कस्मेटिक श्रृङ्गारको पोतोजस्तो भएको छ । यो जलप बिहान लगायो साँझ पखालिन्छ, साँझ पोत्यो रात्रीमै बिद्रूप अनुहार ह्वाङ्ग हुन्छ । असार १० गतेदेखि आजको मितिसम्म सत्तारुढ नेकपा यति गतिहीन देखिएको छ, योभित्र हाँसको चाल पनि भेटिंदैन, बकुल्लाको चाल पनि देखिदैन ।

महाब्याधी उत्कर्षउन्मूख छ, अर्थतन्त्र गतिशील छैन, संघीयताको घाऊ सम्हाल्न मुस्किल भइरहेको अर्थमन्त्री नै बताइरहेका छन्, एमसीसीको राष्ट्रवाद विश्व बैंकको अनुदानसँग शरणागत भइरहेको छ, प्राकृतिक विपत्तिले निम्त्याएको कहर र कोलाहल अत्यासलाग्दो छ, बैदेशिक रोजगारी र बेरोजगारीले घाँटी अँठ्याउँदै गएको छ, अधिकांश संवैधानिक अङ्ग निस्क्रियप्रायः छन्, संघीय कानूनको निर्माण भाडमा गएको छ, तर सत्तारुढ नेकपा विवादलाई लिएर रत्यौली खेलिरहेको छ । पार्टी र सरकार दुबै प्राणविहीन बुख्याँचा जस्तो छ तर यो अरुलाई तर्साउन मस्त छ, व्यस्त छ ।

रणनीतिक मुद्दामा, कार्यनीतिक सवालमा, नीतिमा ठोसको त अपेक्षा नै ब्यर्थ छ, सतही बहस पनि छैन । न उद्योग, न कृषि, न पर्यटन, न शिक्षा न स्वास्थ्य अहो भन्नलायक, एक दुई तीन गरेर गन्नलायक उपलब्धी खोई यो दुई वर्षमा ? सैद्धान्तिक छिद्रहरुमाथि बहसको गुञ्जायस नै छैन । स्वार्थपरक वैयक्तिक माग र मुद्दा भनेको फगत नेताहरुको जुँगाको लडाई मात्र हो भन्ने प्रमाणित गर्न अब कुनै ज्योतिष नचाहिने भएको छ । पार्टी र सरकार दुबै अँधेर नगरी चौपट राज आहानका पात्र बनेर लोक हँसाइरहेका छन् ।

नेकपा नै लोकतन्त्र होइन । नेकपा नै गणतन्त्र पनि होइन । नेकपा नै संघीयता होइन । नेकपा मात्र परिवर्तन होइन । नेकपा फगत साधन मात्र हो यो कहीं पनि साध्य होइन । नेकपा फगत एउटा अंग मात्र हो यो नै मूलतत्व वा मूलआत्मा होइन । नेकपा चिराचिरा, धूलोपिठो भए पनि नेपालमा तत्कालै लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र ढल्दैन, मर्दैन । नेकपा एक भएर पृथ्वी आफ्नो अक्षमा घुमिरहेको छ भन्ने भ्रमबाट पार्टीका शीर्ष नेताहरु मुक्त हुनपर्छ । जनतामा बढ्दो निराशा, असन्तुष्टी, घृणाले ठोस आकार पाउनुअगाडि नेकपाले सरकार र पार्टीको तर्फबाट आफ्नो आकार ग्रहण गरेन भने त्यो बेला अबेला हुनसक्छ । हामीले जोडले भन्नसक्नपर्छ कि थितिमा बस कि आआफ्नो बाटो समात । मोही माग्ने ढुङ्ग्रो लुकाउने अब चल्दैन ।

नेकपा बेथिति र बिंगतिको दलदलमा दबिंदै जाँदा पनि प्राप्त लोकतन्त्रमाथि भीषण पहिरो जाने होइन । किनकि, परिवर्तनलाई संस्थागत गर्न नसक्ने, प्राप्त उपलब्धीलाई गुणमा रुपान्तरण गर्न नसक्ने, घोषित लक्ष्य र कार्यक्रमहरुबाट शनैशनै च्यूत हुँदै गइरहेको नेकपा एकमा दुई, दुईमा तीन र तीनमा चार भए पनि लोकतन्त्र भर्सेलामा पर्दैन । उसै पनि एकता र विभाजन सँगै बोकेर भएको पार्टी एकीकरणको औचित्य र सान्दर्भिकता नै अहिलेसम्म कहाँ देखिएको छ र ?

भित्र आझसम्म त्रिकोणात्मक दौड निरन्तर छ  अन्तरविरोध, अन्तरसंघर्ष, विवाद र बहसको समाधान नीति र विचारमा हो वा अन्त्यहीन अप्राकृतिक सम्झौताहरुमा ? नेताहरुबीच हुँदै आइरहेका कपाली तमसुकजस्ता सम्झौताले पार्टीको जीवन र पद्दतिलाई कहाँसम्म गतिशील बनाउँछ ? छड्के किनाराका साक्षीहरु आजको भोली नै चुकूल ठोकर ङ्यारङ्यार ङुरङुर गर्ने अराजक परिपाटी पार्टी जीवनलाई कहाँ लैजान्छ ? आज ओलिसहितको र भोली ओलीइतरको यो भेला र छलफलको निश्कर्ष के ? समाधान के ? खुमलटार वालुवाटार भैंसेपाटी दोहोरीमा देश कहिलेसम्म अनिर्णयको बन्दी भएर बस्नपर्छ ? विवाद, असहमति, वार्ता, छलफल, संवादले छिरोलिएको यो परालको गुन्टा कस्ने पो कहिले हो, कसले हो ?

प्रचण्डले खोजेको र ओलीले रोजेको स्वार्थ पूरा नभएसम्म हामी यही रमिताको साक्षी हुनपर्ने ? हे पशुपतिनाथ, कापे, कुईंचे र छिकिर्कनीको ओली, दाहाल र नेपालको यो रमिता चाँडै अन्त्य होस् र देशले आफ्नो व्यवस्थालाई छिटो सूचारु गरोस् । नेताहरु भरोसालायक नभएपछि पशपतिनाथमै भर पर्नु जो रहेछ ।