समाचार

अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली

न्युयोर्क

अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या  १ लाख ५० हजार नाघेको छ । मृतकको संख्या १ लाख ५० हजार कटेको मात्र होईन संक्रमितको संख्या बेलुन फुले झैं लगातार फैलिरहेको छ । अस्पतालहरु भरिएका छन् ।  बिगत केही हप्तादेखि दैनिक १ हजार भन्दा धेरैको दरमा मृत्‍यु भै रहेको छ । मृतकको यो बढ्दो संख्या जुन महिनाको पहिलो हप्ता पछिको सबैभन्दा भयावय अवस्था हो ।  अहिले अमेरिकाको दक्षिणी र पश्चिमी क्षेत्रका २४ वटा राज्यहरु र पोर्टो रिकोमा दैनिक मृतकको संख्या उकालो लागि रहेको छ ।  

सर्वशक्तिमान राष्ट्र अमेरिकामा पहिलो  भाईरस देखिएको फेब्रुअरीबाट ५ महिना भित्र कोरोना कै कारण १ लाख ५० हजारले ज्यान गुमाएका छन् । मृतकको संख्या अप्रिल २७ को दिन ५० हजार कटेको थियो भने मेई २७ को दिन मृतकको संख्या १ लाख पुगेपछि विश्व चर्चित न्युयोर्क टाईम्सले समबेदनाको सांकेतिक जनाउका लागि १ हजार मृतकको नाम आफ्नो पहिलो पृष्‍ठमा छापेको थियो ।  

अमेरिकामा महामारी सुरु हुने बित्तिकै अप्रिलको अन्त्यतिर मृतकको संख्या ह्वात्तै बढेको थियो । न्युयोर्क राज्यमा सबैभन्दा धेरै एकै दिन मेई ५ मा ९ सय ५२ जनाको मृत्‍यु भएको थियो । न्युयोर्कमा हालसम्म ३२ हजार ६ सय ५३ को मृत्‍यु भएको छ भने ४ लाख १२ हजार ८ सय ७८ संक्रमित भएका छन् । तर हाल न्युयोर्कलाई क्यालिफोर्निया र फ्लोरिडाले संक्रमित संख्यामा जिति सकेका छन् । न्युयोर्कमा अहिले दैनिक औसत १६ जनाको मृत्‍यु भै रहेको छ भने दक्षिणी र पश्चिमी राज्यहरुमा दैनिक १ हजार भन्दा धेरैको मृत्‍यु भै रहेको छ । 

हामी “विश्व सन्देश साप्ताहिक पत्रिका र विश्व न्युज” परिवार ती सम्पूर्ण मृतकहरुमा भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौं ।