विश्व

भारतले अतिप्रभावित क्षेत्रमा फेरी थाल्यो लकडाउन

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि पुनः लकडाउन शुरु भएको छ । भारतमा अतिप्रभावित राज्यले लकडाउन पुनः प्रँरम्भ गरेका हुन् । सङ्क्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा मात्र लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय भएको भारतीय संचारमाध्यले जनाएका छन् ।

चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म लकडाउन लम्ब्याएको छ । सङ्क्रमित कम भएका ठाउँमा खुकुलो पारिने भएको छ । अब रात्रीकालीन कर्फ्यु भने हट्ने छ । सहज भएको स्थानमा जीम र योग संस्था खोल्न पाइने भएको छ । तर ठूलो संख्यामा जमघट गर्न पाइने छैन ।

शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ अझै एक महिना बन्द रहनेछन् । अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गरि जोखिम नभएका स्थानबाट मात्र यात्रुको आवतजावत खुला गरिनेछ । राजनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक र धार्मिक समारोह समेत एक महिनाका लागि प्रतिवन्ध गरिएको छ ।

अहिले भारतमा दैनिक ५० हजार हाराहारी नयाँ सङ्क्रमित भेटिएका छन् । संक्रमित थप हुने र ज्यान गुमाउनेको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । भारता पछिल्लो २४ घण्टामा ५२ हजार २ सय ४९ जना नयाँ सङ्क्रमित थपिए । अब भारतमा सङ्क्रमितको संख्या १५ लाख ८४ हजार नाघेको छ । ३५ हजारको ज्यान गइसकेको छ । भारतमा बढ्दो संक्रमणले नेपालमा समेत जोखिम बढाएको छ ।