समाचार

आयो स्थानीय तहको बजेट, सबै तहको बजेट ल्याउने सीमा सकियो

काठमाडौं । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले तोकेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउने सीमा मंगलबारबाट सकिएको छ ।

ऐनको प्रावधान अनुसार संघले १५ जेठमा बजेट ल्याइसक्नु पर्छ । प्रदेशले १ असार र स्थानीय सरकारहरुले १० असारभित्र बजेट आफ्नो व्यवस्थापिकामा प्रस्तुत गरिसक्नु पर्ने प्रावधान रहेको छ ।

सोहीबमोजिम ६ महानगरपालिकासहित देशभरका अधिकांश स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् ।

यद्दपी कुन स्थानीय तहमा कति रकम बराबरको बजेट आयो या कुन स्थानीय तहको बजेट सार्वजनिक नै हुन सकेन भन्नेबारे भने एकिकृत तथ्यांक उपलब्ध छैन ।

देशभर रहेका ६ वटा महानगरमध्ये वीरगन्ज महानगरपालिकाले सोमबार नै बजेट सार्वजनिक गरेको थियो । उक्त महानगरपालिकाले चालु आवको तुलनामा बजेट घटाएर सार्वजनिक गरेको हो ।

अन्य महानगरपालिकाले भने मंगलबार नै बजेट सार्वजनिक गरे । बुटवल, हेटौडा, धरानलगायत उपमहानरपालिकाले मंगलबार नै बजेट सार्वजनिक गरेका छन् ।

तथ्यांक अनुसार ६ वटा महानगरपालिकामा मात्र कूल ३९ अर्ब ६६ करोड ९४ लाख रुपैयाँको बजेट आएको छ । चालु आवमा महानगरपालिकाको बजेट ३७ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

महानगरहरुमध्ये सबैभन्दा धेरै बजेट काठमाडौंमा छ । काठमाडौंले १५ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ ।

पोखराले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । विराटनगर महानगरपालिकाले ५ अर्ब १२ करोड ३० लाख, ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख, वीरगन्ज महानगरपालिकाले ४ अर्ब ४८ करोड १३ लाख र भरतपुर महानरपालिकाले ३ अर्ब ३७ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएका छन् ।

स्थानीय तहको बजेटमा भौतिक पूर्वाधार विकास प्राथमिकतामा रहेको देखिन्छ । खासगरी ठूलो बजेट ओगट्ने महानगरपालिकाहरुले भौतिक पूर्वाधार शिर्षकका कार्यक्रममा उल्लेख्य रकम विनियोजन गर्दै बजेट ल्याएका छन् ।