फिचर

सुनको मूल्य प्रतितोला ९९ हजार

काठमाडौं । लकडाउनयता मात्र करीव २५ हजार हाराहारीले वृद्धि भएको सुनको मूल्य प्रतितोला ९९ हजार पुगेको छ । शुक्रबार तोलामा ५ सय बढेको सुनको मुल्य ९९ हजार प्रतितोलामा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय मूल्य अनुसार नै उकालो लागेको हो । बिहीबार सुन ९८ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

कोभिड १९ को महामारीका कारण लगानीका विभिन्न क्षेत्र बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुनमा लगानी खन्याएका छन् । शेयर बजार घटिरहेको र डलरको मूल्य समेत कमजोर भइरहेको अवस्थामा सुनको मूल्यले आकास छोएको हो । नेपालमा यो मूल्य इतिहासकै सर्वाधिक हो ।

अहिले हरेक दिन सुनको मूल्यले कीर्तिमान राखिरहेको छ । मूल्य वृद्धिपछि कारोबार भने ठप्प छ । सुनको मूख्य सिजनमध्ये एक तीज पनि हो । तर, यस बेला मूल्य अत्यधिक भएपछि कारोबार हुन सकेको छैन । चाँदीको मूल्यमा भने बिहीबार कुनै परिवर्तन आएन् । बिहीबार चाँदीको भाउ तोलाको १२ सय २५ रुपैयाँ रहेको छ ।