फिचर

विदेशबाट नेपालीको उद्धार आजदेखि पुनः शुरु

काठमाडौं । विभिन्न मुलुकमा समस्यामा रहेका नेपालीको उद्धारको काम आजबाट पुनः प्रारम्भ हुँदैछ । यसअघि नेपालमा मनसुनले बाटोघाटो बन्द भएपछि उद्धार उडानको काम रोकिएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आजबाट चौथो चरणको उद्धार उडान शुरु गर्न लागिएको छ । चौथो चरण उद्धार उडान आजदेखि साउन २४ गतेसम्म चल्नेछ ।

यसअघि तीन चरणमा भएका उडानबाट ३५ हजार ८०४ जना नेपाली जहाज चढेर घर फर्किसकेका छन् । स्थलमार्गबाट आएको नेपालीको भने तथ्यांक छैन । शुक्रबार विभिन्न देशबाट ९ उडानले नेपालीलाई घर ल्याउँदैछन् । मलेसियाबाट मलिण्डो एयर काठमाडौं आउनेछ । कुवेतबाट चार उडान हुनेछन् । जसमा हिमालय एयर र जजिरा एयरवेजले दुई दुई उडान गर्दैछन् । यूएईको दुबईबाट फ्लाई दुबईको एक जहाज आउनेछ ।

श्री एयरलान्सको जहाज बैंकक पुगेर फर्कने कार्यक्रम रहेको छ । हिमालय एयरलान्सको एक जहाज कुनमिङ् जाने कार्यक्रम रहेको छ । ग्वांझाउबाट चाइना साउर्दन नेपाल आउने गरी आजको तालीका तय भएको छ । आज हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका जहाज कुवेत, यूएई र कतार जानेछन् । यी जहाज शनिबार फर्कनेछन् ।