समाचार

अमेरिका भर चीनबाट शंकास्पद प्याकेट, चीनले भन्यो अनुसन्धान गर्छौँ

न्यूयोर्क

अमेरिकाका ५० वटै राज्यमा चीनबाट शंकास्पद प्याकेट आइ पुगेका छन् । आफुले अर्डर नै नगरेको प्याकेट घरमा आइपुगेपछि स्थानियले प्रशासनलाई जानकारी गराएका थिए ।

सबै प्याकेटमा फलफूल एवं विभिन्न वनस्पतीको बियाँ (बीउ) पाइएको छ । बिभिन्न राज्यका एग्रीकल्चर डिपार्टमेन्टहरुले सार्वजनिक गरेका तस्वीर अनुसार प्याकेटमा चीनको सरकारी हुलाक सेवा चाइना पोष्टको लेवल लगाइएको छ । केही लेवलमा ज्वेलरीको संकेत पनि राखिएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले लेवलहरु नक्कली रहेको र त्यसबारे अनुसन्धान गर्न चाइना पोष्टले प्याकेट चीन पठाइदिन युएसपिएससँग अनुरोध गरि सकेको बताएका छन् । युएसपिएसले विज्ञप्ति जारी गरि प्याकेटबारे आफु जानकार रहेको र केन्द्र एवं राज्य सरकारका अधिकारीहरु समक्ष बेलैमा जानकारी पुर्याएको उल्लेख गरेको छ । युएसपिएसले थप जानकारी दिन भने अस्वीकार गरेको छ ।

यसरी प्याकेट पठाउनुको पछाडि को छ र के नियत हो भन्ने अहिलेसम्म खुलेको छैन । तर ‘ब्रसिङ स्काम’ अन्तर्गत कसैले यो हर्कत गरेको अनुमान लगाइएको छ । युनाइटेड स्टेट्स कृषि विभागले पनि नक्कली बिक्री या ग्राहक रुची देखाउन यसो गरिएको हुनसक्ने अनुमान गरेको छ । बिभाग अन्तर्गतको एनिमल एण्ड प्लान्ट हेल्थ इन्सपेक्सन सर्भिसले यसबारे थप अनुसन्धान गरि रहेको जनाइएको छ । क्यानडामा पनि यस्ता प्याकेट पुगेपछि अनुसन्धान सुरु भएको छ ।