विश्व

अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए

File

कान्दहार । आत्मघाती कार बम विस्फोटमा दर्जनौं हताहती भएको भोलीपल्टै अफगानिस्तानमा थप १५ जना सर्वसाधारणको हत्या भएको छ । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमणमा कम्तीमा १५ आम नागरिक मारिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनामा ७० जना भन्दा बढी घाइते रहेको सरकारी अधिकारीले जनाएका छन् ।

त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मी बीच गत बिहीबारदेखि झडप भइरहेको र यस भिडन्तमा सर्वसाधारण बढी हताहती भएको जनाइएको छ । अहिले भिडन्त शान्त भइसकेको छ । अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरे बताइएको छ । सोही आक्रमणमा १५ सर्वसाधारणले ज्यान गुमाउन पुगेका हुन् । घाइतेमध्ये २८ को अवस्था गम्भीर छ ।

उनीहरुको कान्दहार प्रान्तको राजधानीस्थित मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । भिडन्तमा परी पाकिस्तान र अफगानिस्तानतर्फका कति जना सुरक्षाकर्मीको ज्यान गयो भन्ने सम्बन्धमा भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । सो क्षेत्रमा दुबै पक्ष पूर्ण तयारीमा रहेका कारण जुनसुकै बेला अझ ठूलो भिडन्त हुने आंशकामा आम सर्वसाधारणमा भने त्रास छाएको छ ।