फिचर

विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

फाइल तस्वीर

काठमाडौं । कोरोना भाइरसको संक्रमणयता करीव २ सय ५० हाराहारी शव विदेशमा अड्किएका थिए । नेपालीहरुको उद्धार उडानका दौरान शव ल्याउने क्रम पनि शुरु भएको हो । यसैक्रममा आइतबार बिहान एकै पटक १८ वटा शव काठमाडौं ल्याइएको छ । नेपाल एयरलाइन्सको जहाजबाट दुई गन्तब्यमा रहेका १८ वटा शव आज काठमाडौं ल्याइएको हो ।

मलेशियाबाट नेपाल एयरलायन्सको जहाजले २५२ जना नेपालीलाई स्वदेश ल्यायो । यो जहाजमा १४ जनाको शव समेत ल्याइएको हो । उता, कतारबाट नेपाल एयरलायन्स कै जहाजले १५३ जना नेपालीलाई घर ल्यायो । यो जहाजमा ४ वटा शव नेपाल ल्याइएको छ ।अहिले चौथो चरणको उद्धार उडान जारी छ । सम्भवतः यो उद्धार उडान अन्तिम हुनेछ । त्यसपछि अन्त्यन्तै संकटमा रहेका नेपालीलाई सरकारले आफ्नै खर्चमा नेपाल ल्याउने छ । अरुका लागि भने व्यवसायिक उडान खुला गरिनेछ ।

सरकारले १ भदौबाट उडान खोल्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज घर फर्कनेछन् । आज मलेसिया, कतार, युएई, अमेरिका र युरोपबाट नेपालीहरु घर आउन लागेका हुन् । आज युएईको अबुधाबीबाट हिमालय एयरलायन्सले १५४ जना नेपालीलाई ल्याएर अवतरण गरिसकेको छ । आज मलेशियाबाट मालिन्दो एयर आउँदैछ । युएईबाट दुइ वटा कतार एयरवेजका जहाजसमेत आजै काठमाडौं आउनेछन् । यी उडानमा अमेरिका, युरोप र कतारमा रहेका झण्डै ४ सय हाराहारी नेपाली घर फर्कनेछन् ।