समाचार

कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको मापदण्डलाई फराकिलो बनाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि मन्त्रीस्तरीय निर्णय गरेर पीसीआर परीक्षणको दायरा बढाएको हो ।

मन्त्रालयका अनुसार अब झाडापखाला लागेका तथा स्वाद र गन्ध थाहा पाउन कठिनाइ भएका व्यक्तिको पनि कोरोना परीक्षण गर्ने तयारी थालेको हो ।

यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो आएको, खोकी लागेको, स्वासप्रस्वासमा समस्या देखिएको, संक्रमण फैलिएको क्षेत्रको वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्र परीक्षण हुने उल्लेख थियो ।

परिवर्तित मापदण्ड अनुसार अग्रपंक्तिमा रहेर काम गरेका व्यक्ति, ज्वरो, खोकी, सास फेर्न कठिनाइ भएका, स्वाद तथा गन्ध थाहा पाउन नसक्ने बिरामीको पनि परीक्षण गरिने छ ।

त्यस्तै संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका, विदेशबाट आएका सबै मानिस, अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू, विगत १४ दिनमा कोभिड १९ संक्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू, आइसियुमा रहेका सबै बिरामीलाई पनि परीक्षणको दायरामा ल्याइने भएको छ ।

यस्तो छ परीक्षणकाे नयाँ मापदण्ड :

दीर्घरोगीहरू, चिकित्सकीय मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामी पनि पीसीआर परीक्षणको दायरा भित्र परेका छन् ।

-ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखालासहितको लक्षण देखिएका सबै बिरामी

-अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, चालक, फोहरमैलाका कर्मचारीलाई प्राथमिकता दिएर परीक्षण गरिने छ ।

-सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू

-गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई) का बिरामीहरू

-विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच–सात दिनभित्र)

– १४ दिन अगाडि कोरोना फैलिएको क्षेत्रबाट फर्किएका सबै

-आइसियुमा रहेका सबै बिरामीहरू

-दीर्घरोगीहरू, प्रतिरोध क्षमता कमजोर भइसकेकाहरू (विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू)

– चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू (आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण रिपोर्ट कुर्नु नपर्ने)

– चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोभिड–१९ बिरामीको डिस्चार्जका लागि, तर लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न (कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा) परीक्षण रिपोर्ट नचाहिने ।