समाचार

इण्डो प्यासिफिकबारे चिन्ता नलिन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इण्डो प्यासिफिकका विषयमा धेरै चिन्ता नलिन सबै पक्षलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले चिन्ता लिन नहुनेमा जोड दिएका हुन् । अमेरिकी परराष्ट्र नीति इण्डो प्यासिफिक भएकाले उसको दृष्टिकोण र विश्लेषणबाट भन्दा पनि हामीले हाम्रो फाइदाका बारेमा सोच्नुपर्नेमा जोड दिँदै उनले हामीले अरुको नीतिभन्दा पनि आफ्नो फाइदा के हुन्छ भन्ने कुरामा सोच्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले राजहाँस जस्तै दुध र पानी छुट्टाउन नेपाल सक्षम रहेको भन्दै इण्डोप्यासिफिक राण्नीतिका विषयमा धेरै टिका टिप्पणी आवश्यक नरहेकोमा जोड दिएका छन् । प्रतिनिधिसभा सदस्यहरुले नेपाल अमेरिकाको गोटी बनेको र इण्डोप्यासिफिकमा सामेल भएको टिप्पणी गरेपछि परराष्ट मन्त्री ज्ञवालीले त्यसको प्रतिवाद गरेका हुन् । अमेरिका भ्रमणका क्रममा ज्ञवालीले इण्डो प्यासिफिक अमेरिकी रणनीतिमा नेपाल सामेल भएको चर्चा चलेको थियो । तर नेपालको परराष्ट्र मन्त्रालयले भने यो विषयको खण्डन गर्दै आएको छ ।
इण्डो प्यासिफिकको विषयले लामो समयदेखिको नेपाल र अमेरिकाबीचको सम्बन्धमा कुनैपनि प्रकारको दरार नआउने परराष्टका अधिकारीले बताएका छन् । अमेरिकाले नेपालमा आफ्नो स्वार्थलाई मात्र भन्दा पनि नेपालको सामाजिक आर्थिक क्षेत्रका विभिन्न पक्षमा काम गरिरहेको छ । नेपालको कला संस्कृति र सामाजिक आर्थिक बिकासमा अमेरिकाले सहयोग गरिरहेको छ । त्यसैले ससाना कुराले ठूलो महत्व नराख्ने परराष्टविद्हरुले बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै ज्ञवालीले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको केन्द्रविन्दुका रूपमा विकास गरिने नीति लिइएको बताए । विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले आर्थिक कूटनीतिका माध्यमबाट राष्ट्रिय हित प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको जानकारी दिए । सांसदका जिज्ञासामा मन्त्री ज्ञवालीले समग्र विश्व नै तरल अवस्थाबाट गुज्रिए पनि नेपालले स्वतन्त्र, असंलग्न, तटस्थ, मित्रवत् रूपमा परराष्ट्र नीति अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
बिम्स्टेकमा अध्यक्षले सम्मेलन गर्न सक्ने व्यवस्था भए पनि सार्कमा त्यस्तो व्यवस्था नभएकाले सम्मेलन गर्न नसकिएको उहाँले स्पष्ट गर्नुभयो । नेपाल सदस्य भएका क्षेत्रीय मञ्चलाई प्रभावकारी रूपमा अघि बढाइने तथा सार्क सम्मेलनको प्रयास जारी राख्ने मन्त्री ज्ञवालीले बताए । राजदूत नियुक्तिको मापदण्ड स्पष्ट रहेको बताउँदै मन्त्री ज्ञवालीले समावेशी रूपमा राजदूत सिफारिस भएको र ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट बनाउन शुरु गरिएको सदनलाई जानकारी दिए । खुला सीमाको दुरुपयोग गर्न नदिन नेपाल भारतका सुरक्षाकर्मीले सहकार्य गरी काम गरेको उनले बताएका छन् ।
नेपालको सबै देशसंग सुमधुर सम्बन्ध कायम गर्ने प्रयास हुने पनि मन्त्री ज्ञवालीले बताएका छन् । सगरमाथा संवादमा द्विपक्षीय चासो, मौलिक शान्ति प्रक्रिया, जलवायु परिवर्तन, समावेशी लोकतन्त्रलगायतबारेमा कुराकानी हुने उनले जानकारी दिए । वार्षिक रूपमा हवाईमार्गबाट आउने ११ लाख पर्यटक र कतारलगायत देशमा हुन थालेको निर्यातले आर्थिक कूटनीतिलाई सहयोग पुगेको मन्त्री ज्ञवालीको भनाई छ । खाडी मुलुकमा उत्पन्न पछिल्लो घटनाक्रमका बारेमा मन्त्रालय सचेत रहेको जानकारी दिँदै उनले त्यहाँका कूटनीतिक संयन्त्रसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
मन्त्रालयले नेपालको मौलिक शान्ति प्रक्रिया, जलवायु परिवर्तन, समावेशी लोकतन्त्रलगायत सामूहिक चासोका विषयका बारेमा छलफल गर्न सगरमाथा संवाद शुरु गर्ने जानकारी उनले दिएका छन् । त्यस्तै चीनसँग पारवाहन सम्झौता पूर्णरूपमा कार्यान्वयनमा आएपछि तेस्रो देशबाट पनि सामान ओसारपसार हुने वातावरण बनेको उनको दावी छ । ज्ञवालीले गैरआवासीय नेपालीसम्बन्धी नयाँ विधेयक मस्यौदा गर्न लागिएको जानकारी गराएका छन् । भारतसँग एक हजार ८८० किमी सीमा जोडिएको र दशगजा अतिक्रमणलगायत सीमा क्षेत्रका समस्याका बारेमा नेपाल भारत सीमा कार्य समूहले निरन्तर काम गर्दै आएको एवं हाल चार समूहले स्थलगत रूपमा काम गरिरहेको मन्त्री ज्ञवालीको भनाई छ ।
नेपालका दातृ निकाय वा विकास साझेदारसँग नेपालको हित प्रतिकूल हुनेगरी कुनै सहयोग नलिइएको उनले प्रष्ट पारे । मन्त्री ज्ञवालीसँग सांसद डिला सङ्ग्रौला, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, प्रमिला राई र रेणुका गुरुङले प्रश्न राखेका थिए । सांसदहरुले नेपालको परराष्ट्र नीतिका विभिन्न आयाममा छलफल गरेका थिए । सांसदहरुले अमेरिका, भारत र चीनसंगको सम्बन्धका विषयमा विभिन्न प्रश्न राखे । उनीहरुले नेपालले कसैको पनि पक्षपोषण नगरिकन स्वतन्त्र र मैत्रीपूर्ण सम्बन्धलाई बढवा दिनुपर्नेमा जोड दिएका छन् ।