स्वास्थ्य

वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै

file

काठमाडौं । नेपालमा लकडाउन खुलेपछि कोरोना ग्राफ उकालो लागेको छ । त्यसमाथि कोरोना भाइरसको लक्षण नै देखिने र त्यसले मृत्युसमेत निम्त्याउन थालेसँगै सरकारले पुनः रणनीतिक फेरबदल गर्ने तयारी थालेको छ । सरकारले अहिले नै कडा लकडाउन तथा अन्य उपायबारे सार्वजनिक गरेको छैन । तर, नागरिकस्तरमा सकेसम्म भीडभाड नगर्न र सचेतना अपनाउन आह्वान गरिएको सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार वृद्धवृद्धा र बालबालिकालाई सकेसम्म घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६० वर्षभन्दा माथि र साना बालबालिकामा कोरोना भाइरसको उच्च जोखिम रहने भन्दै सकेसम्म घर बाहिर नजाने आग्रह गरे । कोरोना सामाजिक दूरी कायम गरेमा संक्रमणबाट बच्न सकिने रोग हो । नेपालमा शहरी इलाकामा कोरोना भाइरसको संक्रमणले भयाभह अवस्था सिर्जना गर्न सक्ने जोखिम देखिएको छ । भित्रभित्रै भुसको आगो सरह फैलिएको कोरोना छिट्टै विष्फोटनको अवस्था आउन सक्ने भन्दै विज्ञहरुले सरकारलाई भने पुनः कडा लकडाउनमा जान सुझाव दिइरहेका छन् ।

सरकारले भने पहिलो चरणमा जोरविजोर प्रणाीलाई पुनः ब्यूताएर भीड नियन्त्रणबारे योजना बनाइरहेको छ । अवस्था जटिल बन्दै जाँदा लकडाउनसम्मको तयारी सरकारले गरेको हो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले थप सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबारमात्र काठमाडौंमा ३१ जनामा कोरोना भाइरस परीक्षण देखिएको छ । देशभर भने पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। अब देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ छ। पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ। आइतबार एक सय ११ जना डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ६ सय ३ रहेको छ । ५७ जनाको भने मृत्यु भएको छ ।