फिचर

आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै

काठमाडौं । आज जनै पूर्णिमा, प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । देशभर नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने दिनका रुपमा यो मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिन्छ ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गर्दा विभिन्न सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने प्रचलन रहेको छ । यो दिन ब्राह्मण, क्षत्री र वैश्य तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्ने गर्छन् ।

तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने प्रचलन रहेको छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी समेत भन्ने गरिएको छ । यसै दिन दिदीबहिनीले दाजु भाईको हातमा राखी बाधिदिने गर्छन् ।

यसले दिदिबहिनी र दाजुभाइ बीचको सम्बन्ध प्रगाढ हुने विश्वास गरिन्छ । यो दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन समेत रहेको छ । क्वाटी स्वास्थ्यवद्र्धक खाद्य पदार्थ हो । यसवर्ष घरघर डुलेर रक्षाबन्धन नगर्न र धार्मिक स्थलमा समेत भिडभाड नगर्न सरकारले आह्वान गरेको छ ।