विज्ञान प्रविधि

नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण लागी गम्भीर बिरामी भएका व्यक्तिका लागि खुसीको खबर छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्लाज्माथेराथी विधिबाट पहिलो पटक बिरामीको सफल उपचार भएको छ । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका एक ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको हो ।

९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनको उपचारपछि अहिले जनरल वार्डमा सारिएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोभिड १९ लागेर रोगलाई जितिसकेका मानिसलाई ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन आव्हान गरेको थियो । सोहीक्रममा दाताबाट रगत प्राप्त भएको थियो । त्यसको परीक्षण नै सफल भएपछि चिकित्सक भने उत्साहित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर २० हजार ४ सय हाराहारी संक्रमित छन् । उनीहरुमध्ये १४ हजार ६०३ जना निको भइसकेका छन् । एनएचआरसीले ती निको भएका व्यक्तिबाट स्वछिक रुपमा प्लाज्मा दान गर्न आग्रह गरेको हो । आइतबारसम्म ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन इच्छुक १२ जना इच्छुक देखिएका छन् । उनीहरुले एनएचआरसीमा नाम लेखाएका छन् ।

दाताको प्लाज्मा स्क्रिनिङ गर्दा मिल्ने भएमा गम्भीर विरामीलाई दिइने भएको छ । प्लाज्मा थेरापीबारे थप अनुसन्धान भइरहेको समेत चिकित्सकको भनाई छ । लक्षण नभएका वा गम्भीर विरामी बाहेक र १८ वर्ष भन्दा कम उमेरका संक्रमितमा भने प्लाज्मा थेरापी विधि प्रयोग गरिने छैन । सकेसम्म आफ्नै क्षमताले कोरोना जितेको बिरामीलाई राम्रो मानिन्छ ।

तर, पछिल्लो दिनमा नेपालमा पनि लक्षणसहितका बिरामी देखिन थालेका हुन् । विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लागेको छैन । यस अवस्थामा गम्भीर बनेर उपचार गराइरहेका बिरामीका लागि प्लाज्मा थेरापी उपयुक्त बन्ने देखिएको छ ।