फिचर

कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक

काठमाडौं । कोरोना महमारीपछि पहिलो पटक सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई सेवा संचालनको तयारी गरेको छ । उक्त प्रयोजनका लागि अहिलेसम्म १२ वटा वायुसेवा कम्पनी इच्छुक देखिएका छन् । यी कम्पनीले काठमाडौंसँग १८ वटा शहरमा उडान गर्ने गरी सरकारसँग अनुमति माग गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत १२ वटा कम्पनीले १८ शहरका लागि उडानको अनुमति मागेका हुन् ।

यी कम्पनीबाट सातामा १५८ वटा उडान गर्न अनुमति माग भएको हो । यसमध्ये सबैभन्दा धेरै नेपाल एयरलाइन्सले ५७ वटा उडानका लागि अनुमति मागेको छ । दोस्रो स्थानमा एयर अरेबिया छ । उक्त कम्पनीले सातामा ३५ उडान गर्न चाहेको छ । हिमालय एयरलाइन्सले सातामा २१ उडान गर्न चाहन्छ । प्राधिकरणका अनुसार टर्किस एयरलाइन्सले सातामा एक उडान गर्ने गरी इस्तानबुलका लागि अनुमति मागेको छ ।

सलाम एयरले मस्कटका लागि ७ उडान मागेको छ । इण्डगो एयरले दिल्लीमा सातामा ७ उडान गर्न चाहन्छ । चाइना साउदर्नले चीनको ग्वाङझाउमा सातामा एक उडान मागेको छ । एयर चाइना छेन्दुका लागि १ उडान गर्न चाहन्छ । जजिरा एयरवेजले कुवेतमा साताको २ उडान गर्ने गरी अनमति मागेको छ । फ्लाई दुबइले दुबईमा ७ उडान गर्न चाहन्छ ।

हिमालय एयरलाइन्सले चीनको चोङगिङमा १, दोहामा ५, आवुधावीमा ४, दमाममा ७, र क्वालालाम्पुरमा साताको चार उडान गर्न अनुमति मागेको छ । नेपाल एयरलाइन्सले दिल्लीमा १४, बैंलौरमा ३, मुम्बईमा ७, ग्वाङझाउमा ३, दुबईमा ७, दोहामा ७, क्वालालाम्पुरमा ७, नारितामा ३, बैंककमा ३ र हङकङमा ३ उडानको पर्खाइमा छ । मलेसिया एयरलाइन्सले क्वालालाम्पुरमा ५, मालिन्दो एयरले क्वालालाम्पुरमा ४, एयर अरेवियाले आबुधावी ७ र सारजाहामा २८ उडानको अनुमति माग गरेका छन् ।