रोचक खवर

प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको छ । अझ चिन्ताको विषय त कोरोना समुदायमा फैलिएको छ । किनकी शुरुवाती दिनमा भारत र विदेशबाट फर्किएका नेपालीमा मात्र कोरोना थियो । उनीहरुलाई आइसोलेसनमा राखी उपचार गर्दा कोरोना संक्रमण फैलन सक्ने सम्भावना थिएन । तर, भारतबाट लुकिछिपी पस्ने र नेपाल आइसकेपछि पनि क्वारेन्टिनमा नबस्दा अब शहरी क्षेत्र र तराई भेगमा कोरोनाको दोस्रो लहर फैलने क्रममा रहेको छ ।

लामो समय पार्टी विवादमा अल्झिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार भने कोरोना भाइरसको महामारीका सम्बन्धमा चासो राखे । उनले आज वालुवाटारमा विज्ञहरुलाई छलफलका लागि बोलाएका थिए । उनले आज स्वास्थ्य र अर्थतन्त्र सँगसँगै लैजान सकिने सम्भावनाका विषयमा विज्ञहरुसँग राय लिएको बुझिएको छ ।

प्रधानमन्त्रीसहित सरकारको सोच केही समय पुनः लकडाउनमा जाने रहेको छ । तर, केही विज्ञले भने अब अर्थतन्त्रलाई वेवास्ता नगर्न समेत सुझाव दिएको वालुवाटार स्रोतको भनाई छ । आज प्रधानमन्त्री विज्ञहरुसँगै करीव ४ घण्टा गन्थन मन्थनमा सहभागी भए । आज उनले छलफलमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाएका थिए ।

 

 

धेरैले आजको प्रधानमन्त्रीको प्रस्तुती केही परिपक्क देखिएको बताएका छन् । किनकी यसअघि प्रधानमन्त्रीले बोलाउने अधिकांश बैठकमा आफै बढी बोल्ने र अप्रमाणिक विषय बोलेर बढी आलोचित हुने गरेका थिए । यसअघि उनले गत जेठमा राखेको यस्तै बैठकमा बेसार खाएर कोरोना ठिक हुने देखि नेपालीले कोरोनालाई सजिलै पचाउनेसम्मका अभिव्यक्ति दिएका थिए ।

मंगलबारको बैठकमा भने उनले विज्ञका कुरा धैर्यपूर्वक सुनेको बैठकमा सहभागी एक अर्थशास्त्रीले जानकारी दिए । आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि राखिएको थियो । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि निम्ता थियो । तर, उनी अर्कै छलफलमा व्यस्त भएको बताइएको छ । विज्ञसँग छलफल गरेका प्रधानमन्त्री अब कस्तो कदम चाल्दैछन्, त्यो भने आज बैठकमा सहभागी कसैले पनि अनुमान लगाउन भने सकेनन् ।