समाचार

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटनाको प्रतिवेदन बुझाइयो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटना छानविन आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको छ ।

बुधबार आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री धनबहादुर बुढा समक्ष प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार दूर्घटनाको मूख्य कारण खराब मौसम मानिएको छ ।

१५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दूर्घटनामा परी पर्यटन मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

खराब मौसमका बीच पाथिभरा पुगेको हेलिकोप्टर पाथिभराबाट पनि मौसम खुल्ने आशमा बसेको थियो । थोरै समय मौसम सफा भएको मौका पारेर उडेको हेलिकोप्टरलाई अकस्मात आएको हिउँसहितको तिब्र वेगको हावाले अनियन्त्रित बनाउँदा हेलिकोप्टर दूर्घटनामा परेको आयोगको निष्कर्ष छ ।

आयोगले यसमा मानवीय भन्दा कठिन भौगोलिक परिस्थितिमा अकस्मात परिवर्तन भएको मौसमले असर पारेका कारण दूर्घटना भएको निचोड आयोगले निकालेको छ ।

एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा पाइलटमाथि कुनै प्रकारको दवाव नरहेको र हेलिकोप्टरको प्राविधिक पक्ष पनि राम्रो रहेको बताइएको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै आयोगले छानविनका क्रममा प्राविधिक तथा व्यवस्थापन पक्षका पदाधिकारीसँगको छलफल, दुर्घटनास्थलको स्थलगत अध्ययन, मौसमको अवस्था विश्लेषण, चालकको मानसिक, सामाजिक, आर्थिक तथा पारिवारिक अवस्थाको विश्लेषणसमेत गरेको उल्लेख गरेको छ ।

रम्भीक प्रतिवेदनलाई दुई महिनासम्म हेलिकोप्टर निर्माता मुलुक तथा सरोकारवाला निकायमा पठाउने र त्यहाबाट आउने राय सुझाव राय सुझाव समेटेर विस्तृत प्रतिवेदन बनाउने प्रावधान रहेको छ ।

दूर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

नेपालको हवाई इतिहासमा यस दूर्घटनाले महत्वपूर्ण क्षति पुगेकोथियो ।