स्वास्थ्य

नेपालमा कोरोनाबाट एक दिनमा सर्वाधिक मानवीय क्षति

काठमाडौं । आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सर्वाधिक संख्यामा मानवीय क्षति भएको छ । आज मात्र ५ जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टी भएको हो । अब नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । बुधबार पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौंमा एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको हो । कोरोना संक्रमणबाट पर्सामा वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको ज्यान गएको पुष्टी भएको छ ।

वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको हो । उनी मधुमेहका बिरामी थिए । उनले साउन १८ मा स्वयमले पैसा तिरेर कोरोना संक्रमण परीक्षण गराएका थिए । उता, साउन १९ मा मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको हो । उनमा झाडावान्ताको समस्या भएपछि सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर अस्पतालमा लैजानैसाथ मृत घोषणा गरिएको थियो ।

यता, मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गुमाएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जनाको बुधबार दिउँसो रिपोर्ट पोजेटिभ आएको छ । यता काठमाडौंमा उपचाररत एक महिलाको समेत कोरोना भाइरसका कारण ज्यान गएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको ज्यान गएको हो । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । उनमा निमोनियाको समस्या रहेको पाइएको छ । पछिल्लो समय नेपालमा समुदायमा स्तरमा कोरोना फैलिएपछि मृत्युदरसमेत उकालो लागेको छ ।