फिचर

लकडाउनपछि होटेल र रेष्टुरेन्टमा बढी कर्मचारी कटौती

File Photo

काठमाडौं । नेपालमा लकडाउन शुरु भएयता होटेल तथा रेष्टुरेन्टले बढी कर्मचारी कटौती गरेको पाइएको छ । देशभर २२ दशमलव ५ प्रतिशत कर्मचारी तथा कामदारको जागिर गएको पाइएको छ । यसमा बढी होटेल र रेष्टुरेन्टका कर्मचारी रहेका छन् । नेपाल राष्ट्र बैंकले कोरोना र त्यसपछि भएको लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार उद्योग व्यवसाय नचलेपछि त्यसको असर कर्मचारीको रोजगारीमा देखिएको हो ।

सर्वेक्षणमा सहभागी उद्योग व्यवसायले झण्डै एक चौथाइ कर्मचारी, कामदार कटौती गरेको बताएका छन् । यसबीचमा कर्मचारीको तलवमा समेत उत्तिकै कटौती भएको छ । औसतमा १८.२ प्रतिशतले तलब र सेवा सुविधा काटिएको छ । कोरोना भाइरसका कारण परेको असरको सर्वेक्षण गर्न राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग व्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप बाहेकलाई १३ क्षेत्रमा सर्वेक्षण गरिएको थियो । यो सर्वेक्षण जेठ २६ देखि असार १० गतेसम्म गरिएको अध्ययनमा आधारित हो ।

सर्वेक्षणमा ५२ जिल्लाका ६ सय ७४ उद्योगी, व्यवसायीलाई सहभागिता गराइएको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको सर्वेक्षणमा प्रदेश १ बाट २७.९, वाग्मती प्रदेशबाट २३.३, प्रदेश ५ बाट २०, गण्डकी प्रदेशबाट १२.८, सुदूरपश्चिम प्रदेशबाट ७.७, प्रदेश २ बाट ७.१ र कर्णाली प्रदेशबाट १.२ प्रतिशत नमूना सङ्कलन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लकडाउनका बेला विभिन्न क्षेत्रका उद्योग÷व्यवसायको उत्पादन\कारोबारमा आएको कमी, रोजगारी कटौती, लकडाउनपछिको योजना लगायत विषयसँग सम्बन्धित तथ्याङ्क समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा ३९ प्रतिशत उद्योग, व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा छन् । ६१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा बन्द रहेका थिए । लकडाउनमा ९६.७ प्रतिशत उद्योग व्यवसायको उत्पादन ७३.८० प्रतिशतले घटेको समेत प्रतिवेदनले देखाएको छ । लकडाउनमा कर्मचारीको तलव काट्ने पनि होटल तथा रेस्टुरेन्ट, यातायात, शिक्षा क्षेत्र हुन् ।

सर्वेक्षणबाट अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै ९ महिना लाग्ने देखिएको छ । सरकारले चैत ११ बाट लकडाउन थालेको थियो । लकडाउन साउन ६ मा सकियो । तर, कोरोना भाइरसको प्रभाव अझै रहेका कारण यसले अर्थतन्त्रमा भने गहिरो प्रभाव पार्ने देखिएको छ ।