फिचर

पूर्ण लकडाउनमा नजाने सरकारको स्पटोक्ती, जोखिम बढेका स्थान सील

File photo

काठमाडौं । अब नेपालले पूर्ण लकडाउन थेग्न नसक्ने निष्कर्षमा सरकार पुगेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले अहिले तत्कालै नेपाल ११ चैतको जस्तै पूर्ण तथा देशव्यापी लकडाउनको सोचमा नरहेको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद्का गत सोमबार भएका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ण लकडाउनबारे कुनै पनि प्रकारको योजना नरहेको स्पष्ट पारे ।

उनका अनुसार कोरोना भाइरसको जोखिम मूल्यांकन गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारबाट भने लकडाउनबारे निर्णय हुनेछ । अर्थातः बढी जोखिमपूर्ण क्षेत्रलाई सिल गर्न भने सकिनेछ । अहिले पनि कतिपय महानगरपालिका तथा स्थानीय तहहरुमा कोरोना देखिनासाथ सिल गर्ने गरिन्छ । यसमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्ने गरेको छ ।

संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएमा कडा गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारे । उनका अनुसार लकडाउनबाट अर्थतन्त्रमा परेको प्रभाव बारे विश्लेषणको काम जारी रहेको छ । सरकारले १ भदौबाट लामो दूरीको सार्वजनिक यातायात र हवाई यातायात खोल्ने निर्णय लिएको छ । तर, संक्रमण बढेपछि यसमा पुनर्विचार गर्नुपर्ने राय पनि उत्तिकै रहेको छ ।