समाचार

कांग्रेसले क्रियासिल सदस्य दोब्बर पार्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य दोब्बर पार्ने भएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको हो । यसअघि ५० प्रतिशत मात्र सदस्य थप्न सकिने प्रावधान रहेको थियो । सदस्यता थप्ने भनिए पनि छानबिन समिति गठनमा भने विवाद छ ।

क्रियाशील सदस्यता शतप्रतिशत बढाउन सहमत बनेका संस्थापन र रामचन्द्र पौडेल समूह छानबिन समितिमा विभाजित बनेका हुन् । १३ औं महाधिवेशन हुँदा कांग्रेसमा ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए । नयाँ सहमतिअनुसार यो संख्या १० लाख पुग्नेछ । यसलाई अधिकतम सीमा मानेर क्रियासिल सदस्यता बढाइने भएको छ ।

एकता प्रक्रियामा आएकालाई केन्द्रले दिने कि वडा तहबाट सिफारिस गर्ने भन्ने बारे विवाद कायम छ । देउवा पक्षले केन्द्रबाटै सदस्यता दिन चाहन्छ, तर रामचन्द्र पौडेल पक्षले वडा तहबाट सिफारिस भएर आएपछि मात्र केन्द्रले दिनुपर्ने शर्तमा अडान छन् । अर्कोतर्फ वितरण गरिएको क्रियाशील सदस्यताबारे छानबिन गर्ने समितिमा समेत दुई पक्षबीच विवाद रहेको छ ।

कांग्रेसले नेता नरहरि आचार्यको संयोजकत्वमा ७ सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने सहमति जुटाएको थियो । यसमा संस्थापनबाट ३, पौडेल समूहबाट दुई र सिटौला समूहबाट एक जना राख्ने सहमति जुटेको थियो । तर स्वास्थ्यका कारण आचार्यले समितिमा नबस्ने जानकारी गराएका छन् ।

सभापति देउवाले उनको स्थानमा रमेश लेखकलाई संयोजक बनाउन चाहेको बताइएको छ । यसको पौडेल र सिटौला पक्षको विरोध छ । उनीहरुले संयोजक ७ सदस्यबाटै हुने भन्दै सभापतिले संयोजक तोक्न नपाउने तर्कमा छन् ।