फिचर

विश्वकप छनोटको तयारीमा नेपाली खेलाडी, १ भदौबाट प्रशिक्षण

File Photo

काठमाडौं । चैतयता ठप्प रहेको खेलकुद गतिविधि अब बिस्तारै शुरु गर्ने तयारीमा नेपाल छ । यसैक्रममा अब राष्ट्रिय फुटबल टोली विश्वकप छनोट प्रतियोगिताको छनोटका लागि तयारीमा जुटेको छ । अहिले खेलाडीहरु क्वारेन्टिनमा छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १ भदौबाट खेलाडीलाई प्रशिक्षणका लागि मैदानमा उतार्ने तयारी रहेको छ । तर, त्यस अगाडी नै सबै खेलाडीको कोरोना परीक्षण गरिने भएको छ । सबै खेलाडीको पिसिआर परीक्षण गर्ने र त्यहाँ नेगेटिभ आएका खेलाडीलाई मात्र प्रशिक्षणको अनुमति मिल्नेछ ।

एन्फाका अनुसार अहिले प्रशिक्षणको प्रयोजनका लागि ३४ जना खेलाडीलाई १४ दिने क्वरेण्टीनमा राखिएको छ । उनीहरु आइतबारदेखि क्वरेण्टीनमा बसेका हुन् । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा संचालन हुनेछ । एन्फाले प्रशिक्षणका दौरान मापदण्ड समेत बनाएको छ । खेलाडी, प्रशिक्षक र पदाधिकारीले त्यसको पालना गर्नु पर्नेछ । खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने छ । अभ्यासका दौरान बाहिरी मानिसलाई मैदानमा प्रवेश गर्न दिइदैन । खाना सामूहिक रुपमा खान नपाइने र व्यक्तिगत दूरी कायम गरी खाना खानुपर्ने गरी नियम बनाइएको छ ।

प्रशिक्षणका क्रमा एउटा खेलाडीले एउटै बोतलले मात्र पानी पिउने छन् । अभ्यास स्थललाई नियमित निर्मलीकरण गरिने भएको छ । सबै खेलाडीले एकै पटकमा अभ्यासमा उत्रन समेत पाउने छैनन् । ३४ खेलाडीलाई ३ समुहमा विभाजन गरेर अभ्यास गराइने भएको छ । नेपाल फिफा विश्वकप, २०२२ र एएफसी एसियन कप, २०२३ को छनोट प्रतियोगिताको तयारीमा जुटेको हो ।

कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आउँदो अक्टोबर र नोभेम्बरमा गराउने प्रस्ताव एशियाली फुटबल महासङ्घले राखेको छ । स्थगित भएका खेल अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराइने छ । नेपालले प्रतियोगिताका तीन खेल खेल्न बाँकी छ । सबै खेल नेपालको घरेलु मैदानमा हुनेछन् । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्ने कार्यक्रम छ ।